काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यापारिक घरानालाई पोस्न जनताको स्वास्थ्य दाउमा राखेको बताएका छन् ।
प्रतिनिधि सभाको विशेष अधिवेशनमा सोमबार आफ्नो धारणा राख्दै देउवाले ‘व्यापारीक घरानालाई पोस्न जनताको स्वास्थ्य दाउमा राख्नु भएको के इतिहासले बिर्सिन्छ ?’ भन्दै प्रश्न गरेका हुन् ।
देउवाले कारोना महामारीको यो समयमा पनि घरमा, बाटोमा एम्बुलेन्समा विरामी छट्पटिरहेको, भेन्टिलेटर नपाएर छट्पटाइरहेको अवस्था प्रधानमन्त्रीले भ्रष्टारचारमा संलग्नलाई कारवाही गर्नुको साटो बचाउ गरिरहेको भनेका छन् ।
कमिसनका कारण खोप आउन नसकेको प्रष्ट भइसकेको भन्दै देउवाले जनताको स्वास्थ्यमाथि भएको खेलवाड र भ्रष्टाचारका घटनाले सरकारको नैतिक चरित्र उदांगो भइसकेकोसमेत बताए । देउवाले प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रण तर्फ कुनै चासो नदेखाएको र अनियमिततामा संलग्नको बचाउ मात्र गरेको बताए ।
प्रधानमन्त्रीलाई संविधानले कार्यकारी प्रमुखका रुपमा सम्पूर्ण अधिकार दिएको छ तर अरुमाथि दोष थोपरेर प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिनमात्र खोजेको भन्दै सरकार पूणर् रुपमा असफल भइसकेको जिकिर गरे ।
प्रतिपक्षीको रुपमा कांग्रेसले सहयोगी भूमिका निर्वाह गरेको र सोही कारण आलोचितसमेत भएको भन्दै अरुमाथि दोष थोपरेर प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिन नपाउने देउवाले भनेका छन् ।
‘प्रतिपक्षीको रुपमा कांग्रेसले सहयोगी भूमिका निर्वाह गरेकै हो, सोही कारण आलोचितसमेत हुनु परेको छ, अरुमाथि दोष थोपरेर प्रधानमन्त्री जिम्मेवारीबाट पन्छिन पाउनु हुन्छ ?, उनले प्रधानमन्त्री ओलीलाई एक पटक छातीमा हात राखेर सोच्न समेत आग्रह गरे ।