रङेली । मोरङको रङेली नगरपालिका ३ रंजनीमा एक महिलाको घाटी रेटेर हत्या भएको छ । मृतक रङेली नपा ३ बस्ने २४ वर्षीय अनिता यादव रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्काका अनुसार महिलालाई घाटीमा धारिलो हतियार प्रयोग गरी हत्या भएको जानकारी दिए ।
स्थानीय चिलुवा चोक उत्तर नहरमा स्थानीयवासीले मङ्गलवार बिहान घाटी रेटेर हत्या गरी शव फालेको अवस्थामा यादवलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरी निरीक्षक खड्काले–आफूहरूले घटनाको सूक्ष्म अनुसन्धान गरिरहेका बताउँदै, घटना स्थल बाट केही प्रमाण समेत सङ्कलन गरेको बताए ।
यता मृतका आफन्तहरूले घरकै सदस्यबाट घटना भएको आरोप लगाएका छन् । घटना पश्चात् प्रहरीले मृतकका पति २५ वर्षीय बेचन यादव, ससुरा ६५ वर्षीय रमानन्द यादव, सासू वर्ष ५० की बिजुली देवी यादव र देवर १९ वर्षीय विनोद यादवलाई अनुसन्धानका लागी नियन्त्रणमा लिएको छ ।
मृतकको आफन्तले अनिता माथि विवाह भएको ६ महिना नपुग्दै घरेलु हिंसा र यातना दिने गरेको र सासू र देवरका कारण घरमा विवाद हुँदा बेला बेला अनिता लामो समय माइत घर बस्नु परेको थियो ।
२ वर्ष अघि विवाह भएको अनिताको माइती कानेपोखरी गाउँपालिका ५ भौसाबारी बासवारीटोल रहेको बुझिएको छ । घटना प्रश्चात प्रहरीले घटनास्थल मुचुल्का गरी मृतकको शव माइती पक्ष सँगै पोस्टमार्टमका लागी रङेली अस्पतालमा ल्याएका छ ।