काठमाडौं । जनता समाजवादी पार्टी जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रको रक्षार्थ लौरो उभ्याएर भए पनि वैकल्पिक सरकार दिनुपर्नेमा जोड दिएका छन् ।
सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले लेखेका छन्, ‘संसद, संविधान, लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो । जे गरेर रक्षा हुन्छ त्यही गरौं ।’
उनले जस्तोसुकै कदम चालेर भए पनि संविधान, संसद र लोकतन्त्रको रक्षामा जोड दिएका छन् । पटक पटक राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान मिचेको सन्दर्भमा राष्ट्रपतिले संविधान मिचेरै वैकल्पिक सरकारको आह्वान गरेकाले उनले जस्तोसुकै अवस्थामा पनि वैकल्पिक सरकार दिनुपर्नेमा जोड दिएका हुन् ।
उनले अगाडि लेखेका छन्, ‘सबैले आवश्यक त्याग–बलिदान गरौं । लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिउँ । आजै गरौं, अहिल्यै गरौं ।’
नेता भट्टराईले अगाडि भनेका छन्, ‘बिपी, पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान–लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ ।’