ऋणपत्रमा विदेशी लगानी बढेसँगै दक्षिण कोरियाको ऋण भार ५६६ अर्ब डलर पुग्यो
सिन्ह्वा,
प्रकाशित २०७८ जेठ ७ शुक्रबार
551
Shares
फाइल तस्बिर
सियोल। औद्योगिक सम्पन्न राष्ट्रको श्रेणीमा रहेको दक्षिण कोरियाको वैदेशिक ऋण चालु आर्थिक वर्षको पहिलो तीन महिनामा हालसम्मकै उच्च रहेको केन्द्रीय बैङ्कले जनाएको छ। खास गरी विदेशीहरूले स्थानीय ऋणपत्र (बोन्ड) व्यापक रूपमा खरिद गरेका कारण ऋण भार बढेको बैङ्कले सार्वजनिक गरेको वित्तीय विवरण उल्लेख छ।
बैङ्कका अनुसार मार्चको अन्त्यसम्ममा बाह्य दायित्व बढेर ५६६ अर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा २१ अर्ब डलरले बढी हो।
कोरियाली अर्थतन्त्र निकै सबल रहेका कारण पनि विदेशी लगानीकर्ताहरूले कोरियाली ऋणपत्रमा लगानी बढाएको देखिएको छ। कोरियाको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) पहिलो त्रैमासिक अवधिमा १.६ प्रतिशतले वृद्धि भएको छ। यो वृद्धि कोभिड–१९ सुरु हुनुभन्दा अघिको अवस्थामा पुगेको बैङ्कले जनाएको छ।
देशको विदेशी मुद्रा सञ्चयको तुलनामा अल्पकालीन वैदेशिक ऋणको अंश १.२ प्रतिशतले वृद्धि भएर ३७.१ प्रतिशत पुगेको छ।
यसै गरी, बाह्य ऋणको भार मार्चको अन्त्यसम्ममा १० खर्ब डलर पुगेको छ जुन अघिल्ला तीन महिनाको तुलनामा करिब तीन अर्ब डलरले बढी हो।