चीनमा विवाहपछि पछुताउने महिलाहरूको सङ्ख्यामा दोब्बर वृद्धि, घरेलु हिंसा र असमान नीति कारक
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
174
Shares
तस्बिर : साउथ चाइना मर्निङ पोस्टबाट
बेइजिङ। चीनमा विवाह गरिसकेपछि पश्चात्ताप गर्ने महिलाहरूको सखा दोब्बरले वृद्धि भएको पाइएको छ। गत वर्ष गरिएको एक अध्ययन अनुसार सन् २०१२ यता पश्चात्ताप गर्नेहरूको सङ्ख्या दोब्बर वृद्धि भएको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। चिनियाँ महिलाहरूले आफूले विवाह गरेर पछुताएको बताएका हुन्।
चिनियाँ महिलाहरूले आफू विवाहपछि खुसी हुन नसकेको कुरा सामाजिक सञ्जालमा नै लेखिरहेका छन्। महिलाहरूले विवाहपछिका हरेक दिनहरू तनावमै गुजार्नु परेको जनाउन थालेका छन्। जीवन अत्तालिएको उनीहरूको प्रतिक्रिया रहेको छ।
लियु फांगले चिनियाँ सामाजिक सञ्जाल विबोमा भनेकी छन्, मेरो जीवनको सबैभन्दा ठुलो पछुतो भनेको विवाह गर्नु र बच्चा जन्माउनु रहेको छ। एक्लै हुँदा कति आनन्द थियो।
उनको यो पोस्ट चीनमा आम विवाहित महिलाहरूको प्रतिनिधि आवाज हो। अधिकांश चिनियाँ महिलाहरूले विवाहप्रति सधैँ प्रश्न गर्ने गरेका छन्। लियुको यो पोस्टले अधिकांश चिनियाँहरूको ध्यान तानेको छ र विवाहित महिलाहरूले आफ्नोबाट शेयरसमेत गरेका छन्।
सात वर्षअघि विवाह गरेकी लियुको छ वर्षीय छोरा रहेको छ। उनले विवाह गर्दा तत्काल सन्तान नजन्माउने र केही आत्मनिर्भरको काम गरिसकेपछि मात्रै सन्तानको जन्माउने योजना बनाएकी थिइन्। तर, विवाहपछि उनको योजना एक दिवा सपना मात्र बन्यो।
गत वर्ष गरिएको अध्ययन अनुसार चिनियाँ महिलाहरू विवाहपछि खुसी नहुनुका कारणहरू खोज्दै जाँदा उनीहरूमाथि हुने गरेको घरेलु हिंसा, घरायसी जिम्मेवारी र असमान सरकारी नीति रहेको पाइएको छ। विवाहपछि पुरुष र महिलाका लागि बनाइएका नीतिहरू पनि विभेदकारी भएको पाइएको हो।