भारतको सहयोगमा ताइवानद्वारा पाराग्वेमा कोभिड१९ विरुद्धको खोप वितरण
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ ११ मंगलबार
413
Shares
फाइल तस्बिर
ताइपेइ। ताइवानले भारतको सहयोगमा आफ्नो साझेदार मुलुक पाराग्वेमा कोभिड१९ विरुद्धको खोप उपलब्ध गराएको छ। ताइवानको दक्षिण अमेरिकी साझेदार मुलुक पाराग्वेलाई चीनले दबाब दिइरहेको बेला ताइवानले भारतको सहयोगमा पाराग्वेमा खोप उपलब्ध गराएको हो।
पाराग्वेले ताइवानसँग कूटनीतिक सम्बन्ध भङ्ग गरे कोभिड१९ विरुद्धको खोप उपलब्ध गर्ने भन्दै चीनले दबाब दिएको ताइवानी विदेश मन्त्री जोसेफ वुले बताएको रोयटर्सले लेखेको छ।
चीनले कोभिड१९ विरुद्धको खोप वितरण गर्दै विभिन्न मुलुकसँग खोप कूटनीति गरिरहेको पनि विदेश मन्त्री वुले टिप्पणी गरे। चीनले दक्षिण अमेरिकी मुलुकहरू ब्राजिल, चिली, एलसाल्भाडोर जस्ता मुलुकहरूमा खोपको कूटनीति गरिरहेको र यसले ताइवानको कूटनीतिमा समेत असर पारिरहेको विदेशमैत्री वु ले टिप्पणी गरे।
पाराग्वेमा खोप उपलब्ध गर्नेबारे ताइवानले अमेरिका, जापान, भारत जस्ता लोकतान्त्रिक साझेदार मुलुकहरूसँग छलफल गरेको र भारतले एक लाख डोज कोभाक्सिन खोप उपलब्ध गराएको विदेश मन्त्री वुले बताए। भारतले थप एक लाख डोज खोप अर्को चरणमा पठाउने ताइवानले बताएको छ।
ताइवानको दक्षिण अमेरिकी साझेदार मुलुक पाराग्वेमा सरकारले स्वास्थ्य सङ्कटमा काम गर्न नसेकेको भन्दै प्रदर्शन चर्किएपछि गत महिना ताइवानले खोप उपलब्ध गर्ने प्रतिबद्धता गरेको थियो।