जनकपुरधाम। कोरोना महामारी फैलिए यता प्रदेश २ का झन्डै तीन प्रतिशत नागरिकले पिसिआर परिक्षण गराएका छन् ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार कोरोना महामारीको पछिल्लो अवस्थाबारे जानकारी दिन बोलाएको सरोकार बलाहरूको बैठकमा प्रस्तुत गरिएको तथ्याङ्कमा झन्डै तीन प्रतिशत नागरिकले पिसिआर परीक्षण गराएको उल्लेख रहेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विजय कुमार झाले यश प्रदेशमा ६० लाख जनसङ्ख्या रहेको अनुमान गर्दै त्यसको २ दशमलव ९८ प्रतिशत अर्थात् एक लाख ७८ हजार ६ सय ३१ जनाले पिसिआर परिक्षण गराएको जानकारी गराए।
झाका अनुसार पिसिआर परिक्षण गराएकाहरू मध्ये १७ दशमलव ४७ प्रतिशत अर्थात् ३१ हजार २२३ जना सङ्क्रमित देखिएकोमा हाल ११ हजार ५ सय ५९ जना एक्टिभ सङ्क्रमित रहेको जानकारी समेत गराए।
स्वास्थ्य निर्देशनालयले प्रस्तुत गरेको तथ्याङ्क अनुसार हाल अस्पतालमा सात सय ३४ जना उपचार गराई रहेको छ ,भने १० हजार ६ सय २५ जना होम आइसोलेसनमा रहेका छन् ।
कोरोना सङ्क्रमणका कारण प्रदेशमा हाल सम्म ६ सय ३ जनाको मृत्यु भएको छ । कोरोना महामारीको दोस्रो लहरको सङ्क्रमण दर समेत पछिल्लो समयमा घट्दो क्रममा गएको बताए ।
२४ घण्टामा ५ सय ६० जना सम्म पुगेको सङ्क्रमण दर बुधवार ३४४ मा झरेको निर्देशक झाले व्रिफिङ्गको क्रममा जानकारी गराए। तर उक्त दर फेरी पनि बढ्न सक्ने सम्भावना कायमै रहेको हुनाले सतर्कता अपनाउन आवश्यक रहेको बताए।
बैठकमा उपस्थित अन्य सरोकारवालाहरूले हाल कोरोना सङ्क्रमण रोकथाम, उपचार र नियन्त्रणका विषय आ–आफ्नो निकाय बाट भई रहेको प्रयास हरू बारे जानकारी गराए।
बैठकमा सामाजिक विकास मन्त्री नबल किशोर साह, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राम केवल साह, नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, मुख्यन्यायधिवक्ता दीपेन्द्र झा, प्रमुख सचिव गोकर्णमणि दवाडी सहितको उपस्थिति रहेको थियो ।