काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्शी सचेतनामूलक म्युजिक भिडियो सार्वजनिक गरेको छ ।
कम्पनीले ‘सचेत बनौँ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौँ’ भन्ने सन्देश सहितको साङ्गीतिक भिडियो तयार पारेको हो ।
महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देशसहितको भिडियोमा आ–आफ्नो क्षेत्रबाट योगदान गर्न समेत आग्रह गरेको छ ।
भोलिका दिनमा महामारीबाट मुक्त भई सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश पनि भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौँ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौँ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।
सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एन्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनले उत्कृष्ट भिडियो बनेको छ । हालको विषम परिस्थितिलाई यथार्थपरक रूपमा प्रस्तुत गरी शब्दलाई भिडियोमा न्याय दिन सफल भएको छ ।
पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायाङ्कन गरेका हुन् । साथै सन्तोष दवाडीले सम्पादन गरेको भिडियो पोस्ट प्रोडक्सन अल थ्री मिडिया घर, बागबजार रहेको छ । भिडियो पोस्ट प्रोडक्सन प्रमुख पदम तिमल्सिना रहेका छन् ।
यस्तो छ भिडियो: