झापा आन्दोलनका तीन नेता गणतन्त्र विरोधी : वामदेव गौतम
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ १५ शनिबार
555
Shares
फाइल तस्बिर
काठमाडौँ। एमालेका नेता वामदेव गौतमले केपी ओलीलाई लक्षित गर्दै झापा आन्दोलनका तीन नेता गणतन्त्र विरोधी भएको जनाएका छन्। उनले नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन सङ्घर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा सङ्घर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा भएको उल्लेख गरेका छन्। तर ती तीन नेता को हुन्न भनेर खुलाएका छैनन्।
‘नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन सङ्घर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा सङ्घर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो बैठकमा अव सङ्घर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ’, गौतमले भनेका छन्।
उनले आज एक विज्ञप्ति जारी गर्दै गणतन्त्र ल्याउने तीन जना व्यक्ति रहेको पनि जनाएका छन्। गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र पुष्पकमल दाहाल नै युगान्तकारी सङ्घर्षका नायक रहेका जनाएका छन्। ‘नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौँ नेता कार्यकर्ता तथा अन्य जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ।
तर वि सं २०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई पुर्याउने युगान्तकारी सङ्घर्षका महानायकहरू भने नेपाली काँग्रेस पार्टीका सभापति गिरिजाप्रसाद कोइराला नेकपा (एमाले) का महासचिव माधवकुमार नेपाल र नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) हुनुहुन्थ्यो। उहाँहरूमध्ये गिरिजाप्रसाद कोइराला हामीबीच हुनुहुन्न। अरू दुई जना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ’, उनले भनेका छन्।