फुङ्लिङ। ताप्लेजुङको एक मात्र सुकेटार विमानस्थललाई ‘रवीन्द्र विमान स्थल’ मा नामकरण गरिएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा पूर्व संस्कृति , पर्यटन तथा नागरिक उड्डयन मन्त्री स्वर्गीय रवीन्द्र अधिकारीको स्मृतिमा विमानस्थलको नामकरण गरी थप विकसित गरिने उल्लेख छ।
यसका लागि आवश्यक रकम समेत विनियोजित गरिएको वक्तव्यमा उल्लेख छ। विसं २०७५ फागुन १५ गते एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परी पूर्व मन्त्री अधिकारी सहित सात जनाको निधन भएको थियो।
तामोर कोरिडोर सम्पन्न गर्न रु ६ अर्ब ५० करोड विनियोजन
यसै गरी सरकारले तामोर कोरिडोर र कोसी कोरिडोर निर्माण सम्पन्न गर्न रु ६ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ । यो कोरिडोरले भारत र चीनसँग जोड्ने छोटो दूरीमा जोड्छ।
अहिले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ इला डाँडामा निर्माण भइरहेको छ। ती दुई देशसँग सडक सञ्जालले जोड्न चार किलोमिटर मात्र बाँकी रहेको उत्तर दक्षिण लोक मार्ग कार्यालयका सूचना अधिकारी माधव पौडेलले जानकारी दिए।