काठमाडौं । नेकपा (एमाले) को स्थायी कमिटी बैठक फेरि सरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान १० बजे बोलाइएको बैठक मंगलबार बिहान ११ बजे मात्र बस्ने भएको हो ।
एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले शीर्ष नेताको व्यस्तताका कारण बैठक सारिएको जानकारी दिए । सोमबार लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उपनिर्वाचन पनि भइरहेको छ ।
यसअघि आइतबार साँझ ५ बजे तय गरिएको बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो । बैठकमा शनिबार प्रस्तुत गरिएको आर्थिक वर्ष २०७८–०७९ को बजेटको समीक्षा र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने बताइएको छ । रासस