काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशका राष्ट्र प्रमुखसँग कोरोना भाइरसविरुद्धको खोप याचनाप्रति आपत्ति प्रकट गरेका छन् ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी मानिएको खोपको व्यवस्थापनमा कूटनीतिक माध्यमबाट सक्रियता बढाएकी भण्डारीले संविधानले तोकेको क्षेत्राधिकार नै मिचेको बताएका हुन् ।
राष्ट्रपति भण्डारीले अमेरिकी राष्ट्रपति जोन बाइडेन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, भारतीय राष्ट्रपति रामनाथ कोविन्द र चिनियाँ राष्ट्रपति सी जिनपिङलाई विभिन्न माध्यममार्फत खोप सहयोगका लागि आग्रह गरेकी थिइन ।
उक्त विषयलाई लिएर नेविसंघका पूर्वअध्यक्ष समेत रहेका घिमिरेले के वर्तमान सरकारले राष्ट्रपति नामक संस्थालाई पंगु बनाउन खोजेको हो ? भनेर प्रश्न उठाएका छन् ।
सामाजिक संजालमा उलने लेखेका छन्, ‘संवैधानिक राष्ट्रपतिले बिभिन्न देशका राष्ट्रप्रमुखलाई सहयोगको याचनासहित पत्राचारगर्नु उदेकलाग्दो छ। यसबाट धारा ६६(२)ले तोकिदिएको क्षेत्राधिकार मिचिई संविधानको समेत उल्लंघन भएको छ। कामचलाउ नैं भएपनि यो सरकारको काम हो। के वर्तमान सरकारले राष्ट्रपति नामक संस्थालाई पंगु बनाउन खोजेको हो ?’