फुटेर होइन जुटेर अघि बढौं, युवा संघ जेठ २ कै अवस्थाबाट अघि बढ्न चाहन्छः नरेश शाही
हाम्रा कुरा
प्रकाशित २०७८ जेठ २८ शुक्रबार
587
Shares
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालका अध्यक्ष नरेश शाहीले ‘फुटेर होईन जुटेर, व्यक्तिको लागि होईन राष्ट्रको लागि’ भन्दै एकताबद्ध भएर अगाडी बढन आह्वान गरेका छन् ।
सर्वोच्च अदालतले बिहिबार गरेको फैसला अनुसार एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिएपछि संघका अध्यक्ष शाहीले सोही अनुसार युवा संघ पनि २ जेठकै अवस्थाबाट अगाडी बढ्ने बताए ।
‘युवा संघ नेपाललाई एकताबद्ध रूपमा संचालन गर्नु पर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ । गुटगत मानसिकता त्याग्दै संगठनलाई एकताबद्ध बनाउन जस्तो सुकै त्याग गर्न पनि हामी तयार रहेको जानकारी गराउन चाहन्छु । युवा संघ त्यागेर अनेकन नाममा गतिविधि संचालन गरिरहनु भएका कमरेडहरूलाई म भन्न चाहन्छु ‘आउनुहोस् फुटेर होइन जुटेर, व्यक्तिको लागि होइन राष्ट्रको लागि’ एकताबद्ध भएर युवा आन्दोल सन्चालन गरौं, यसैमा सबैको हित छ ।
यसर्थ हिजो युवा संघ, नेपालमा रहि आज विभिन्न अन्य सङ्गठनको नाममा रहनु कमरेडहरुलाई अदालतको फैसला अनुरूप पुनः नेकपा एमालेको भातृ सङ्गठन युवा संघ नेपालमा आवद्ध हुन हार्दिक अपिल गर्न चाहन्छु’ अध्यक्ष शाहीले गरेको अपिलमा भनिएको छ ।
नेकपा एमालेको दसौं महाधिवेशन आयोजक कमिटीलाई मान्यता नदिने अदालतको फैसला पछि नेकपा एमाले पुर्ण रूपमा जेठ २ अगाडीको अवस्थामा पुगेको छ । त्यसै फैसलाले एमालेका भातृ संगठनलाई पनि जेठ २ अगाडीको अवस्थामा पुर्याएको छ ।
नेकपा एमालेको युवा भातृ संगठन युवा संघ नेपाल थियो । केही साथीहरूले त्यसलाई विघठन गर्दै अनेकन नाममा गतिविधि गर्दै आएको बताउँदै उनले आफूहरुले युवा संघ नेपालको राजनीतिक एवं साङ्गठनिक महत्व, प्रभाव, इतिहास र आगामी युवा आन्दोलनमा यसको नेतृत्वदायी भुमिका जिवित राख्न ठुलो संघर्ष गरेको जनाएका छन् ।
युवा संघको नाम, सङ्गठन, इतिहास र गरिमा बचाउन यो संघर्षमा लागिरहेका र साथ दिने सबैमा उच्च सम्मान व्यक्त गर्दै अध्यक्ष शाहीले युवा संघ जोगाउने राजनीति, साङगठनीक र शारीरिक एवं नैतिक सकृयताको लागि उच्च प्रसंसा गर्दै धन्यवाद ज्ञापन गरेका छन् ।