जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस काण्डमा मुछिएपछि फरार डम्बरबहादुर राउत तीन महिनापछि घर फर्केका छन्। बटेश्वर गाउँपालिका वडा नम्बर ४ स्थित आफ्नो निवासमा अध्यक्ष राउत आएका हुन्। त्यहाँ उनलाई स्वागत गर्न नेकपा (एमाले) ओली पक्षका नेता कार्यकर्ताको भीड लागेको थियो । अध्यक्ष राउत अख्तियारको कानुनी डन्डाबाटै उन्मुक्ति पाएर शुक्रवार अपराह्न घर आइपुगेका हुन् ।
गएको फागुन १७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगालको टोलीले धनुषाको सखुवा महेन्द्रनगरबाट पछ्याएपछि गाउँपालिका अध्यक्ष राउत ८ लाख घुस रकम फालेर भागेका थिए । गाउँपालिकाको गाडीसहित चालक वीरबहादुर मगरलाई अख्तियारले नियन्त्रणमा लिएको थियो भने उनले फालेर भागेको ८ लाख रुपैयाँ घुस सुक्जोर खोलाको किनारबाट बरामद गरिएको थियो ।
चालकलाई फेरि हाजिर हुने सर्तमा छाडेको थियो। गाउँपालिका अध्यक्षले कार्यालयको भवन निर्माण योजनाको भुक्तानीको लागि ठेकेदारबाट ८ लाख रुपैयाँ घुस लिएका थिए। घटना पश्चात् तीन महिनादेखि अध्यक्ष राउतले फरार रहेका थिए। यद्यपि दुई महिनादेखि उनी आफन्त तथा आफ्नो पार्टीका नेता कार्यकर्तासँग टेलिफोन सम्पर्कमा थिए। अख्तियारबाट सफाइ पत्र पाएपछि उनी घर फर्किएका हुन् ।
सुरुमा माधव नेपाल पक्षको कोटाबाट पालिका अध्यक्षमा निर्वाचन लडेर विजयी भएका राउत पछिल्लो समय कानुनी कारबाहीबाट बच्न ओली पक्षमा लागेको स्थानीय बताउँछन्।
गाउँपालिका कार्यालयमा प्रवेश निषेधको लागि सङ्घर्ष समिति
यता बटेश्वर गाउँपालिका कार्यालयमा उनलाई निषेध गर्न सर्वदलीय बैठकले शुक्रवार १०१ सदस्य सङ्घर्ष समिति गठन गरेको छ । नेकपा माओवादी केन्द्र, जसपा र काँग्रेसका एक पक्ष, युवाहरू लगायतले सङ्घर्ष समिति गठन गरेका हुन् ।
भ्रष्टाचारी अध्यक्षलाई अख्तियारले कारबाही नगरे पनि जनताले कारबाही गर्ने भन्दै कार्यालयमा निषेध गर्ने ब्यानरहरू समेत सङ्घर्ष समितिले ठाउँ ठाउँमा लगाएका छन् ।