खराब मौसमका कारण हेलिकप्टर आउन नसक्दा संक्रमितको मृत्यु
हुम्लामा सङ्क्रमणबाट दोस्रो व्यक्तिको मृत्यु
जनकबहादुर शाही,
प्रकाशित २०७८ असार १ मंगलबार
505
Shares
हुम्ला । खराब मौसमका कारण समयमा हेलिकप्टर आउन नसक्दा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हुम्ला जिल्ला चन्खेली गाउँ पालिका वडा नम्बर ३ मेखला निवासी वर्ष ५२ का हइत रोकायाको आज (मङ्गलवार) थप उपचारका लागि हेलिकप्टर कुर्दाकुर्दै ज्यान गएको छ ।
कोभिड १९ पोजेटिभ भई विगत ३ दिन देखि इलाका स्वास्थ्य कार्यालय मिमिमा उपचार गराई रहेका रोकायाको एकासी अक्सिजन लेभल ६० मा झरी श्वास फेर्न गाह्रो भई तत्काल उद्धार को लागि जिल्ला स्वास्थ्य कार्यालय हुम्ला को पहलमा हेलिकप्टरको बन्दोबस्त गरिएको भए पनि तिन दिन देखिको लगातार वर्षाका कारण काठमाडौँबाट हेलिकप्टर उड्न नसक्दा मङ्गलवार दिउँसो ४ बजे रोकायाको निधनको भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहले बताए ।
कोरोना संक्रमणको कारण हिमाली जिल्ला हुम्लामा रोकायासहित दुई जनाको मृत्यु भएको छ । यस अघि कोरोना संक्रमित सर्केगार्ड गाउँपालिका वडा नम्बर २ को रिप गाउँका स्थानीय ५५ वर्षका टोप्ले कामीको थप उपचारका लागि जिल्ला अस्पतालमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
हुम्लाका स्थानीय तहहरूमा अक्सिजन अभाव हुँदा स्वास्थ्य चौकीमा अक्सिजन दिने अवस्था नभएका कारण २ जनाको ज्यान गएको छ । यदि मौसम खराब नभएर समयमै हेलिकप्टर आउन सकेको भए रोकायालाई बचाउन सकिने प्रमुख सिंहले बताए ।