काठमाडौं । गृहमन्त्री नेतृत्वको विपद व्यवस्थापन समितिले तीन महिना लगाएर तयार गरिएको विपद् प्रतिकार्य योजना पारित गरेको छ ।
समितिको बुधबार विहान सिंहदरबारमा बसेको बैठकले विपद् मनसुनको समयमा गरिनु पर्ने कामको तयारी सहितको प्रतिकार्य योजना पारित गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बैठकले प्रतिकार्य योजना पारित गर्दै सरकारका सबै संयन्त्रलाई बाढी, पहिरो प्रभावित क्षेत्रमा उद्धार, राहत तथा व्यवस्थापनको काममा परिचालन गर्ने निणर्य गरेको जानकारी दिए ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बैठकले मनसुनको एक सय दिनको अवधिमा गर्ने प्रतिकार्य सम्वन्धि कार्ययोजनालाई बैठकले पारित गरेको जानकारी दिए ।
प्रतिकार्य योजनामा कुन मन्त्रालयले के काम गर्ने र कसरी अघि बढ्ने भन्ने विषयमा विस्तृतमा उल्लेख गरिएको पोखरेलले जनाएका छन् । यो योजना सबै मन्त्रालय, एनजीओ, आइएनजीओ, दातृ संस्था लगायतको छलफल र प्रयासबाट तयार गरिएको हो ।
बैठकमा सिन्धुपाल्चोक, मनाङलगायत बाढी/पहिरो प्रभावित क्षेत्रको अवस्था र अपनाइनु पर्ने रणनीतिका विषयमासमेत छलफल भएको छ । बैठकले प्रभावित क्षेत्रहरुमा तत्काल उद्धार र राहतको कामलाई अघि बढाइनेसमेत निणर्य गरेको छ ।
मंगलबार आएको बाढीबाट सिन्धुपाल्चोकको मेलम्ची बजारमा धेरै क्षती पुर्याएको छ । मेलम्चीमा अहिलेसम्म ७ जनाको मृत्यू भएको छ । यस्तै ६ जना घाइते भएका छन् ।
मेलम्चीको एक होटलमा फँसेका चार जनाको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । यस्तै पाँच सय जना विस्थापित भएका छन् । विस्थापितमध्ये तीन सय जनालाई नेपाली सेनाको क्याम्पमा र २ सय जनालाई इन्द्रेश्वर माविमा राखिएको छ ।