स्याङ्जा । स्याङ्जाको भिर कोटमा जिप दुर्घटना हुँदा एक जना र आँधी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । जीप दुर्घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।
भीरकोटको बानेथोकबाट बयारघारी बजारका लागि छुटेको ग १ ज ४९४० नम्बरको महिन्द्रा जिप भीरकोट ४ कै सेन्थुम्का नजिकै दुर्घटनामा परेको हो । दुर्घटना परेर घाइते भएका भीरकोट ३ का अन्दाजी ४३ वर्षका बिन्दु अधिकारीको उपचारका क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै अन्य ६ जना घाइतेहरूको पनि हेलुमा प्राथमिक उपचार गरी थप उपचारका लागि पोखरा रेफर गरिएको भीरकोट ५ का वडा अध्यक्ष याम प्रसाद अधिकारी लक्ष्मणले जानकारी दिए । घाइतेहरू सबै भीरकोट ३ का हुन् । अविरल वर्षाका कारण सडक चिप्लो हुँदा दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
आँधी खोलाले बगाएर आँधी खोला गाउँपालिका ६ बस्ने वर्ष ५७ का घनश्याम ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार मङ्गलवार रातीदेखि हराएका ढकाल बुधवार बिहान भीरकोट ५ स्थित आँधी खोला किनारमा मृत फेला परेका थिए । आँधी खोलाले बगाएको वा अन्य तवरबाट उनको निधन भएको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।