मेलम्ची। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् ट्रेड युनियन विभाग प्रमुख शिव प्रसाद हुमागाईले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रमा भएको क्षतिको अवलोकन पछि राहत सहयोग उपलब्ध गराएका छन् । मङ्गलवार बेलुका आएको बाढीका कारण मेलम्ची तथा त्यस माथिका क्षेत्रमा बाढीले क्षति पुर्याएको छ ।
नाकुते भन्ने स्थानमा पहिरो गई खोला थुनिएर आएको बाढीले मेलम्ची खोला आसपासका बस्तीमा क्षति पुर्याएको छ । क्षतिको विवरण बुझ्न मेलम्ची पुगेका केन्द्रीय सदस्य हुमागाईले विस्थापित परिवारका लागि तत्कालको सहयोग भन्दै २ हजार के.जी चामल हस्तान्तरण गरेका थिए ।
नेपाली कांग्रेस सिन्धुपाल्चोकका जिल्ला सभापति विकास लामा, क्षेत्र नं २ का क्षेत्रीय सभापति आइतसिंह तामाङ तथा मेलम्ची नगर सभापति मधुसूदन सिग्देल मार्फत चामल हस्तान्तरण गरेका हुन् । विपत्तिमा परेकाहरुको सङ्ख्या यकिन गर्न र आवश्यकता पहिचान भए पछि अन्य सहयोगको लागि पनि आफू तयार रहेको हुमागाईले बताए ।
नेपाली कांग्रेस मेलम्ची नगर समितिको तर्फबाट बाढी पीडितहरूका लागि राहत तथा विपद् व्यवस्थापन समिति निर्माण गरी नगरपालिकासँग समन्वय गरेर राहत वितरणको कार्यलाई अगाडि बढाउने नगर सभापति सिग्देलले बताए ।
राहत हस्तान्तरण कार्यक्रममा केन्द्रीय सदस्य हुमागाईसँगै पत्रकार महासङ्घ काभ्रे शाखाका पूर्व सभापति नारायण सापकोटा, तरुण दल पनौतीका अध्यक्ष महेश थापा, ट्रेड युनियन सङ्घीय प्रतिनिधि रघुनाथ हुमागाई, पत्रकार नवराज सापकोटा लगायत सहभागी थिए ।