विश्व बैंकले नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने
हाम्रा कुरा
प्रकाशित २०७८ असार ३ बिहिबार
194
Shares
काठमाडौँ । विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई रु १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम बिहिवार स्वीकृत गरेको हो ।
“महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो”, नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भनेका छन्।
नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पूँजीमा निजी क्षेत्रको पहुँच पुर्याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।