खोटाङ । चार वर्षअघि मानसिक सन्तुलन गुमाएका खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटा बितलवका मनोज तामाङको स्वास्थ्यमा सुधार आएको छ ।
आफन्त तथा शुभेच्छुकको आर्थिक सहयोगमा गत चैत १७ गते टिचिङ अस्पताल काठमाडौं लगिएका २४ वर्षीय तामाङको स्वास्थ्यमा सुधार आएको हो ।
निरन्तरको उपचारपछि करिब १५ दिन अघिदेखि मनोजको होस खुलेको बुवा बाबुराम तामाङले बताए । मनोजको अहिले पनि अस्पतालमै उपचार भइरहेको छ । ‘विरामी भएपछि दोहोरो कुराकानी हुँदैनथ्यो। एउटा कुरा सोध्दा अर्कै कुरा गर्थे ।
बोलीको ठेगान हुन्नथ्यो,’ बाबुरामले भने, ‘पहिलाजस्तो क्लियर त भएको छैन तर होस् खुलेको छ । दोहोरो कुरा हुन्छ, दोहोरो वात गर्न सक्ने भएको छ। पूर्ण निको हुने आशा छ ।’ टिचिङ अस्पतालमा तामाङको उपचारको क्रममा पौने दुई लाख खर्च भइसकेको छ ।
चार वर्षअघि मनोज २० वर्षका थिए । एसएलसी दिएपछि अढाइ महिनाका लागि दिल्ली गए। दिल्लीबाट घर फर्किएको १५ दिनपछि सुतेकोबेला राती १२ बजे उनीएक्कासी ‘के आयो-के आयो’ भन्दै कराउँदै कुद्न थाले ।
त्यही रातबाट उनले आफ्नो मानसिक सन्तुलन गुमाएका हुन । कतिपयलाई आक्रमण नै गर्न थालेपछि उनलाई बाँधेर समेत राखिएको थियो । स्वास्थ्यमा समस्य आएलगत्तै मनोजलाई धरान, काठमाडौं, विराटनगर लगायतका अस्पतालमा कुदाइए तर स्वास्थ्यमा सुधार आएन । धामीझाँक्री र माताकोमा लैजाँदा उत्तिकै खर्च भएको बाबुराम बताउँछन ।
उपचारको नाममा आठ लाख खर्च हुँदा पनि मनोजको स्वास्थ्यमा सुधार आएन । उपचारकै क्रममा परिवार ऋणमा चुर्लुम्म डुबेपछि हार खाएका बाबुरामले मनोजलाई घरमा ल्याएर राखेका थिए। कोभिड-१९ को महामारीका कारण गतवर्ष लकडाउन हुँदा नियमित औषधि सेवन गर्न नपाएपछि उनको स्वास्थ्यमा थप जटिल समस्या निम्तिएपछि कांग्रेसका युवा नेता बाजिन्द्र बिष्टको पहलमा सहयोग जुटाएर पुःन अस्पताल लगिएको थियो ।
कांग्रेस जन्तेढुंगा गाउँपालिका समितिका उप-सभापति बिष्टको पहलमा ६७ हजार ७८० रुपैयाँ आर्थिक सहयोग रकम जुटे लगत्तै मनोजलाई अस्पतालतर्फ हिँडाइएको थियो । आफन्त तथा शुभेच्छुकबाट जुटेको रकम सकिएपछि डिस्चार्जका क्रममा अझै २० हजारको अभाव भएको बाबुरामले बताए।
हाल डिस्चार्जकाक्रममालाग्ने रकमपनि सहयोगी तथा शुभेच्छुकबाट जुटाउने काम भइरहेको युवा नेता बिष्टले बताए । परिवारका पाँच सन्तानमध्ये मनोज जेठो सन्तानहुन्।
विभिन्न अस्पताल चहारे पनि आर्थिक अभावका कारण उपचार गराउन नसक्दा बिरामी छोरालाई घर फर्काएका बाबुरामले बिष्टलाई सहयोगका लागि गुहारेका थिए।
बाबुरामको आग्रहमा युवा नेता बिष्टले मानसिक समस्याबाट पीडित भएका मनोजको भिडियो खिचेर देश विदेशका दातामाझ सहयोग अभियान चलाएका थिए।
मनोजलाई सहयोग गर्नका लागि बाबुराम तामाङको नाममा कृषि बिकास बैंकको खाता नम्बर ११२५२०१८२४६७००१७मा सहयोग रकम जम्मा गर्न सकिने व्यवस्था मिलाइएको छ ।