arrow

साढे १० करोडको लगानीमा निर्माण भएको पुल प्रयोगवीहिन, स्थानीयलाई सास्ती

logo
युवराज रेग्मी 
प्रकाशित २०७८ असार ५ शनिबार
jhapa-pool.jpg

झापा । हुलाकी सडक संजाल अन्तरगत झापा र मोरङ जिल्ला जोड्ने रतुवा खोलामा साढे दस करोडको बजेट लागतमा  निर्माण गरिएको २ सय ५ मिटर लामो पक्की पुल निर्माण सम्पन्न भएको १३ वर्ष बितिसक्दा पनि पूर्ण रुपमा प्रयोगमा आउन सकेको छैन् ।

पुलको पूर्व र पश्चिम्तर्फको भागमा आवतजावत गर्नका लागि बनाइएको तटबन्ध ब्यबस्थित तवरबाट निर्माण नहुँदा  सर्वसाधारणहरु उक्त स्थानबाट सहज रुपले आवतजावत गर्न सकिरहेका छैनन् ।

हुलाकी सडक मार्गहुँदै मोरङको रतुवामाई नगरपालिका  र झापाको गौरीगञ्ज गाउँपालिका क्षेत्र आवतजावत गर्न स्थानीय बर्षेनी सास्ती झेल्दै आइरहेका छन् ।

सडक डिभिजन कार्यालय अन्तर्गतको सुनसरी–मोरङ पुल आयोजनाले कालिका ओभरसिज जेभि प्रालि काठमाडौलाई  आ.ब.२०६४/०६५ मा पुल निर्माणको ठेक्का टेन्डर दिएको थियो । उक्त कम्पनीले रु १० करोड ४१ लाखको लागतमा २ सय ५ मिटर लम्बाइ र साढे सात मिटर चौडाइ भएको पुल २०७२ जेस्ठमा निर्माण सम्पन्न गरेको  थियो ।

निर्माण सम्पन्न भएको ६ बर्ष बितिसक्दा पनि हालसम्म उक्तपुल त्यहाँका स्थानिय जनताले पूर्णरुपमा वषैभरी प्रयोग गर्न सकेका छैनन् । पुलको लम्बाइ भन्दा खोलाको चौडाई ठूलो भएकोले निर्माण कम्पनीले एप्रोच रोड र च्यानेलाइजको काम नसकी छाडेको थियो।

पुल सञ्चालनका लागि सडक विभागले आयोजनालाई आवश्यक अध्ययन गरेर प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। तर आयोजनाले विभागको निर्देशनअनुसार काम नगर्दा हालसम्म पनि  पुल प्रयोगबिहिन अवस्थामा रहेको छ ।

हाल आंशिक रुपमा प्रयोग हुँदै आएता पनि हुलाकी सडक संजाल अन्तरगत पर्ने उक्त पुल सडकसम्म व्यवस्थित रुपले नजोडिदा सो हुलाकी सडक पूर्णरुपमा  बैकल्पिक मार्ग बन्न सकेको छैन ।

हाल उक्त क्षेत्र अन्तरगतको  हुलाकी सडक खन्ड निर्माण कार्य द्रुत गतिमा चलिरहँदा अति नै आवश्यक देखिएको रतुवा खोलाको उक्तपुल प्रयोग बिहिन झै बनेको छ । पुल निर्माण सम्पन्न हुदापनी पुलको पूर्वतर्फ र पश्चिम्तर्फ करिब एक सय मिटर परमात्र सडक छ ।

तात्कालिन समयमा  सडक डिभिजन कार्यालयले एक सय मिटर पुल थप्ने डिजाइन गरिएता पनि अहिलेसम्म टेण्डर प्रकृया नगर्दा रतुवाखोलाको उक्त पुल अलपत्र अवस्थामा छ ।

यति ठूलो रकम खर्चिएर निर्माण सम्पन्न गरिएको उक्त पुल सुचारु गर्न संघीय सरकारले बेवास्था गर्दा स्थानीय निकायले केही बजेट खर्च गरेर पुल सन्चालन गर्न कोसिश गरेता पनि त्यसले दीर्घकालीन निकास दिन सकेको छैन् ।

पुलको पूवीतर्फको भागमा गौरिगन्ज गाउँपालिका र पश्चिम् तर्फको भागमा रतुवामाइ नगरपालिकाले स्थानिय तबरबाटै बजेट खर्च गरि पुल सूचारु गरिएतापनी ब्यवस्थित तटबन्धन निर्माण गर्न नसक्दा अझै सम्मपनि  पुलबाट सबारिसाधनहरु पुर्णरुपमा आवतजावात गर्न सकेका छैनन् ।

जेनतेन साइकल, मोटरसाइकल र पैदल यात्रुहरु आवत जावत गर्दै आएतापनि वर्षादको समयमा आएको बाढीले तटबन्धनै कटान गरेर लैजादा उक्त स्थानको सडक वषेैनी सम्पर्कबिच्छेद हुँदै आएको छ  । अघिल्ला बर्षझै यसबर्ष पनि सुरुवाती वर्षादको पानीले उक्त पुलको पश्चिम् तर्फको तटबन्धन बगाउन थालिसकेको छ ।

पुलको समस्याले मोरङको सिजुवा, इटहरा, झुर्किया, महादेवा तथा झापाका गौरीगञ्ज, खजुरगाछी, कोहबरा, कोरोबारी लगायतका बासिन्दालाई बर्षायाममा बढी समस्या हुँदै आएको छ।

पुलको पूर्वतर्फ र पश्चिमतर्फ  करिब सय रसय  मिटर क्षेत्रमा  ब्यबस्थित तटबन्धन गरेर पुललाई सडकसम्म जोड्न नसक्दा  सर्वसाधारणले उक्त पुल पुर्णरुपमा  प्रयोग गर्न सकेका छैनन् ।

गत बर्ष पनि बर्सातयामको बाढीले पुलको दुबैतर्फको तटबन्धन कटान गरि बगाउँदा  स्थानियहरुले आवतजावतका लागि  पुलमुनिबाट बासको फट्के बनाइ मोटरसाइलका लागि रु ३०, साइकलका लागि रु २० र ब्यक्तिका लागि रु १० शुल्क नै तोकेर रकम असुली गरेको समाचार विभिन्न स्थानिय तथा राष्ट्रिय सञ्चार  माध्यमहरुमा सम्प्रेषण भएको थियो ।
 



लोकप्रिय समाचार
नयाँ