arrow

पत्रकारलाई कोभिड खोप उपलब्ध गराउन सर्वोच्चको अन्तरिम आदेश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ६ आइतबार
Supreme-Court-Nepal.jpeg

काठमाडौँ । सर्वोच्च अदालतले पत्रकारलाई कोभिडविरुद्धको खोप तत्काल व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ । नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई अग्रपङ्क्तिमा खटिएका पत्रकारका लागि खोपको व्यवस्था गरिदिन आग्रह गर्दा पनि बेवास्ता गरेपछि सर्वोच्चमा रिट दायर गरिएको थियो । 

महासङ्घ काठमाडौँ शाखाका सदस्य तथा उपत्यका प्रदेश समिति सदस्यसमेत रहेका अधिवक्ता विष्णु गिरी र अर्का अधिवक्ता लीलानाथ घिमिरेले दायर गरेको रिटमाथि न्यायाधीश कुमार चुडालको इजलासले सुनुवाइ गर्दै पत्रकारहरूका लागि खोपको व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो ।

पत्रकारको पेशागत प्रकृति र परिस्थिति अनुसार अग्रपङ्क्तिमा रहेर समाचार सङ्कलन गर्ने पत्रकारलाई प्राथमिकता प्रदान गरी कोभिडविरुद्धको खोप उपलब्ध गराउन आदेशमा भनिएको छ । ‘पहिलो डोज खोप लगाइसकेकालाई दोस्रो डोज र पहिलो डोज नलगाएकालाई पहिलो डोज खोप लगाउने व्यवस्था तत्काल गर्नु’, सर्वोच्चद्वारा आइतबार जारी अन्तरिम आदेशमा भनिएको छ ।

पत्रकार महासङ्घ काठमाडौँ शाखाले काठमाडौँ शाखासहित प्रतिष्ठान शाखा र एसोसिएट शाखाका गरी २२ सय पत्रकारका लागि खोप माग्दै स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई पत्र बुझाएको थियो ।



लोकप्रिय समाचार
नयाँ