आइएमई लाइफ इन्स्योरेन्सले ६० करोडको आइपिओ निष्कासनका लागि पायो ट्रिपल बि रेटिङ्ग
हाम्रा कुरा
प्रकाशित २०७८ असार ८ मंगलबार
624
Shares
काठमाडौँ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ निष्कासनका लागि ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ। रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ।
कम्पनीले ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्कासनका लागि रेटिङ्ग गराएको हो। रेटिङ्ग एजेन्सीको रिपोर्ट प्राप्त भए सँगै अव कम्पनीको प्राथमिक शेयर निष्कासनको प्रक्रिया अघि बढ्नेछ।
कम्पनीले १२० वटा शाखा कार्यालयबाट बिमितहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। साथै कम्पनीमा १८ हजार भन्दा धेरै अभिकर्ता हरू आबद्ध रहेका छन्। कम्पनीले नवीनतम सेवा उपलब्ध गराउँदै जाने क्रममा कम्पनीको वेबसाइट र मोबाइल ऐप्समा राखिएको च्याटबट मार्फत बिमित तथा अभिकर्ता हरूका लागि उपयोगी हुने विविध सेवा तथा सूचनाहरू प्रदान गर्दै आएको जनाएको छ।
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चार वर्ष अगाडि जीवन बिमा व्यवसाय गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो। कम्पनीमा ग्लोबल आइएमइ बैक, आइएमइ ग्रुप लगायत ठूला प्रतिष्ठित व्यावसायिक समूहहरूको लगानी रहेको छ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४० करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्कासन पछि कम्पनीको चुक्ता पुँजी २ अर्ब रुपैयाँ पुग्नेछ। प्राथमिक शेयर निष्कासन पछि संस्थापक सेयर धनीहरूको हिस्सा ७० प्रतिशत र सर्वसाधारणको शेयर हिस्सा ३० प्रतिशत हुनेछ।