काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले मंगलबार सर्बोच्च अदालतको आदेशले सबैलाई एकताबद्ध हुन प्रेरित गरेको प्रतिक्रिया जनाएका छन् ।
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक नियुक्त गरेका मन्त्रीहरुलाई जिम्मेवारीबाट मुक्त गरेपछि सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा नपुर्याउने पनि बताए ।
मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले प्रतिनिधि सभा विघटनपछि नियुक्त गरिएका २० मन्त्रीलाई पदमुक्त गर्न आदेश दिएपछि मंगलबार साँझ नेता नेपालको प्रतिक्रिया आएको हो । नेता नेपाल पार्टी एकताको पक्षमा रहेको संकेत दिएका छन् ।
उनले सामाजिक संजालमा भनेका छन्,‘संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देशसहित पार्टी र जनताले भोग्दैछन्।’
नेता नेपालले लेखेका छन्, ‘संसदमा झण्डै दुई तिहाई बहुमतका साथमा बलियो सरकार बनेको थियो, जनचाहना अनुसार इतिहासमै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी “नेकपा” बनेको थियो । तर, संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा(एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्।
सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तब्यमा पुर्याउँदैन र राम्रो परिणाम दिँदैन । हामीले गलत कार्यको खबरदारी गर्दै आएका थियौं र छौं । एकताबद्ध पार्टी र आन्दोलन बनाउन लागौं साथै नेपाल राष्ट्रको गरिमा ऊँचो राख्न तथा संविधान, गणतन्त्र र नेपाली जनताको हितको रक्षा गर्न सम्पूर्ण वामपन्थी, लोकतान्त्रिक र परिवर्तनकारी सकारात्मक शक्तिहरू एक हौं । मुलुकलाई भड्खालोमा पुग्नबाट समयमै जोगाऔं !’