भारतमा कोरोना महामारी विरुद्ध नौसेनाको कामबारे मोदीलाई ब्रिफिङ
एजेन्सी
प्रकाशित २०७८ असार ८ मंगलबार
968
Shares
नयाँ दिल्ली। भारतमा नौसेनाले कोरोना भाइरस महामारी विरुद्ध स्वास्थ्य क्षेत्रमा योगदान गरिरहेको छ। भारतीय नौसेनाले कोरोना महामारी विरुद्ध स्वास्थ्य सहायताको काम गरिरहेको नौ सैन्य प्रमुख अद्मिरल कराम्बीर सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई ब्रिफिङ गरेका छन्।
नौसेनाले विभिन्न सहरहरूमा नागरिकहरू लक्षित अस्पताल सञ्चालन गर्ने, आफ्ना चिकित्सकहरूलाई परिचालन गर्ने साथै अन्य मुलुकबाट अक्सिजन कन्टेनर ल्याउने अभियानमा लागि परेको प्रमुख सिंहले बताए।
कोरोना भाइरस महामारीमा नौसेनाको कामबारे समीक्षाका लागि प्रधानमन्त्री मोदीले प्रमुख सिंहसँग भेटेका हुन्। नौसेनाले सबै राज्य प्रशासनहरूमा अस्पताल बेड, यातायात लगायतका विभिन्न सहायता गरेको नौसेना प्रमुख सिंहले उल्लेख गरे।
नौसेनाका अस्पताल तथा चिकित्सकहरू नागरिकको उपचारका लागि खटिरहेको साथै सात पानीजहाजहरू अक्सिजन ढुवानीमा परिचालन गरेको बताइएको छ।
कोरोना भाइरसको दोस्रो लहर भयावह बनेको भारतमा पछिल्लो केही समययता सङ्क्रमणदर घट्दै गएको द इन्डियन एक्सप्रेसले लेखेको छ।