arrow

कुकुरको हत्या गर्नेमाथि कानुनी कारबाहीको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असार ९ बुधबार
dog-surkhet.jpg

काठमाडौँ । सुर्खेतमा कुकुरको पाशविक हत्या गर्ने व्यक्तिमाथि कानुनी कारबाही गर्न पशु अधिकारकर्मीले नेपाल प्रहरीसमक्ष माग गरेका छन् ।

एनीमल नेपालकी संस्थापक अध्यक्ष प्रमदा शाह, पशु अधिकारकर्मी इरफान खान, एसपीसीए नेपालकी संस्थापक सदस्य विना पन्त, श्रीज एनिमल रेस्क्यु नेपालकी संस्थापक सिर्जना ठकुरी र डुडु फाउन्डेसनका अध्यक्ष मिलन कार्कीले जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुखलाई एक ध्यानाकर्षण पत्र पठाएर घटनामा संलग्नमाथि कारबाही गर्न माग गरेका हुन् ।

गत असार ५ गते वीरेन्द्रनगर नगरपालिका–१२ का रनबहादुर पुलामीले छिमेकीको कुखुरा खाएको आरोपमा आफ्नै घरमा पालेको कालो रङ्गको पोथी कुकुरलाई खजुरास्थित इत्राम खोलाको पुलमा झुन्ड्याएर हत्या गरेका थिए ।

पशु अधिकारकर्मीले यसलाई पाशविक, क्रूर एवं निर्ममतापूर्ण व्यवहारको पराकाष्ठा भन्दै कानुनी कठ्घरामा उभ्याउन प्रहरीलाई आग्रह गरेका छन् ।

यस्ता प्रवृत्तिलाई छुट दिँदा आउँदा दिनमा थप घटना पुनरावृत्ति हुने खतरा रहेकाले संलग्नमाथि मुलुकी अपराध संहिता ऐन २०७४ अनुरूप कारबाही गर्न उनीहरूको माग छ ।

 ‘एउटा अबोध जनावर कुकुरमाथि गरिएको यो जघन्य अपराधको घटनाले मानवीयताप्रति निक्कै लज्जा बोध बनाएको र आगामी दिनमा समाजमा यस्ता आपराधिक घटना तथा बढ्न नदिन वा निरुत्साहित गर्नका लागि पनि निज अभियुक्तलाई नियन्त्रणमा लिई कानुनअनुसार मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कडाभन्दा कडा सजाय (दण्ड र जरिवाना दुवै) को लागि जोडदार माग गर्दछौँ,’ पशु अधिकारकर्मीले गराएको ध्यानाकर्षणमा भनिएको छ ।



लोकप्रिय समाचार
नयाँ