लकडाउन पास लिएर जुवा खेल्न गएका ९ घरानियाँ व्यवसायी खालबाटै पक्राउ, छुटाउन दवाव
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २० मंगलबार
105
Shares
काठमाडौं। लकडाउन पास लिएर जुवा खेल्न गएका काठमाडौंका ९ घरानियाँ व्यवसायीहरु काठमाडौं कमलादीको एक होटलको जुवा खालबाटै पक्राउ परेका छन्।
कमलादीस्थित गणगौर रिजेन्सी बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारि ९ जना घराना व्यवसायिक समुहका ९ व्यवसायीहरुलाई पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले उनीहरुलाई पक्राउ गरेको वृत्तका डीएसपी रञ्जन दाहालले जानकारी दिए। उनका अनुसार होटलबाट व्यवसायीहरु रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, विमल खेतान, विमल अउजा, पुरुषोत्तम अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक मिक्की जोगाई गरि ९ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरु विभिन्न घराना समूह्यको उच्च नेतृत्वमा रहेर काम गरिरहेका व्यक्तिहरु हुन्। कतिपय बैङकका संचालक समेत छन्।
प्रहरीले जुवाडे व्यवसायीहरुको साथबाट २ लाख ७७ हजार रुपैयाँ नगद वरामद गरेको हो। त्यसैगरि हजार, ५ सय, १ सय र ५० दरका १ सय ७९ थान क्वाइन पनि बरामद गरिएको दाहालले बताए । क्वाइन राखेर खेलाइएका कारण जुवा खाल ठूलो भएको अनुमान प्ररहीको छ।
प्रहरीले जुवा खोलाएको कोठा सिल गर्नुका साथै उनीहरुले चढेका सवारी साधन पनि नियन्त्रणमा लिइएको छ ।
व्यवसायीहरु पक्राउ परे लगत्तै सरकारमा रहेका कतिपय व्यक्तिहरुले उनीहरुलाई रिहा गर्न दवाव समेत दिएको प्रहरी स्रोत बताउँछ।