काठमाडौं। जुवाको खालबाट पक्राउ परेका अशोक कुमार अग्रवाल गिनीका अवैतनिक महावाणिज्य दूत रहेको खुलेपछि फेरि एक पटक नेपालमा कार्यरत विभिन्न देशका वाणिज्य दूतहरुको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको छ।
किर्गिजस्तानका अवैतनिक महावाणिज्य दूत सुलभ अग्रवाल कूटनीतिक सवारी साधन प्रयोग गरेर कालोबजारीमा संलग्न भएको अवस्थामा पक्राउ परेसँगै सरकारले सबै महावाणिज्य दूतहरूलाई प्रदान गर्दै आएको सुविधा खोस्ने निर्णय गरेको थियो भने पक्राउ परेका अग्रवालको जिम्मेवारी खोसिएको थियो।
लकडाउनकै समयमा कालोवजारीमा संलग्न सुलभ अग्रवाल माथि कार्वाहीको डण्डा चलाएको सरकारले अर्का महावाणिज्यदुत अशोक कुमार अग्रवाल पनि लकडाउनकै पास लिई अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा खालबाटै पक्राउ परेपछि उनलाई के गर्छ धेरैले परराष्ट्र मन्त्रालयतिर आँखा लगाएर बसेका छन्।
परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले पक्राउ परेका गिनीका महावाणिज्य दूत अग्रवालको रिपोर्ट गृह मन्त्रालयबाट मगाएको बताए। कुटनीतिक आचारसंहिता र मर्यादा विपरितका काममा महावाणिज्य दूत संलग्न हुनु र पक्राउ पर्ने घटनामा मन्त्रालय गम्भिर रहेको मन्त्री ज्ञवालीले बताए। हाम्राकुरासँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, “गृहको रिपोर्ट पाएपछि कसुरको मात्रा हेरेर मन्त्रालयले कार्वाहीको प्रक्रिया अघी बढाउँछौ।"
परराष्ट्र मन्त्रालयले यस अघी कुटनीतिक आचारसंहिता र मर्यादा विपरितका काममा संलग्न महावाणिज्य दूत सुलभ अग्रवाललाई कार्वाही गरेपछि यो पटक पनि सोहिस्तरको कार्वाहीको अपेक्षा जनस्तरमा छ। तर अग्रवाल अर्थमन्त्री खतिवडा र नेकपाका नेताहरुको सम्पर्क प्रयोग गरेर कार्वाही रोक्ने अभियानमा सक्रिय भएको एक नेकपाका नेताले बताएका छन्। यो बेलामा परराष्ट्रमन्त्रीको अग्निपरिक्षा हुने ति नेताले बताए।
जुवाको खालबाट समातिएका व्यवसायी अग्रवाल र अन्य अर्थमन्त्री खतिवडाका निकट रहेको व्यवसायिक जगतमा व्यापक चर्चा हुँदै आएको छ। अर्थमन्त्रीसँग निकट भएकै कारण यस बर्षको वजेटमा उनले करका दरमा तलमाथि गरेर खेल्ने मौका समेत पाए। विशाल ग्रुप संलग्न चकलेटको कारोवारमा करको दर घटाउने, सवारी साधनमा करको दर बढाउने सूचना पहिल्यै चुहाएर भन्सारबाट सवारी साधन पहिल्यै छुटाउन लगाउने काममा उनले मन्त्री खतिवडाबाट साथ पाएका थिए।