काठमाडौं। तत्कालिन संचार मन्त्री गोकुल बाँस्कोटाको ७० करोड कमिशन काण्डको अडियो टेप सार्वजनिक गर्ने विजयप्रकाश मिश्र शान्ति सुरक्षा नभएपछि लुक्दै भाग्दै हिडेका छन्। आफ्ले सार्वजनिक गरेको अडियोका कारणले मन्त्रीपद गुमाएका गोकुल बाँस्कोटाको डरले उनी घरमा पनि बस्न नसकी लुक्दै भाग्दै हिडेको उनी निकटहरुले बताएका छन्।
७० करोड कमिशन काण्डमा मुछिएपछि मन्त्रीपद गुमाएका गोकुल बाँस्कोटाले ज्यान लिने षड्यन्त्र रचेको भन्दै विजयप्रकाश मिश्रले जेठ ५ मा जिल्ला प्रसासन कार्यालयमा उजुरी दिएका थिए।
लमजुङका मिश्रले पूर्वमन्त्री गोकुल बाँस्कोटासहित सत्तारुढ नेकपाका दुई सांसदबाट आफ्नो ज्यान खतरामा रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिए पनि सुरक्षाको प्रत्याभूती नभएपछि उनी लुक्दै भाग्दै हिडेका छन्। लकडाउनको बेलामा पनि मिश्र अर्धभूमिगत झै लुक्दै हिडेका उनको पारिवारिक स्रोतले जनाएको छ।
मिश्रले उजुरी दिनु केहि दिनअघि ४ जना युवाले उनको घरको तस्बिर खिचेर लगेको र बाँस्कोटाले नै घरको ठेगाना ती युवालाई दिएको निवेदनमा उल्लेख समेत गरेका छन् ।
टोखा नगरपालिका ११ बैकुण्ठपुरीमा पर्ने उनको घरको तस्बिर लिने उनीहरुमध्ये २ जना भारतीय नागरिक जस्ता देखिएको समेत उल्लेख गरेका छन्। उनले भारतीय नागरिक जस्ता देखिने भनेर प्रसाशनमा दिएको निवेदनमा उल्लेख गरेका व्यक्ति पेशेवार अपराधी हुन सक्ने आशंका मिश्र परिवारले गरेको छ।
तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिशन खानका लागि ७० करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो मिश्रले नै सार्वजनिक गरेका थिए। त्यो अडियो पहिलो पटक हाम्राकुराले नै बाहिर ल्याएको थियो। त्यसपछि वाध्य भएर बाँस्कोटाले पदबाट राजीनामा नै दिनु परेको थियो।
सोहि प्रकरणबाट रुष्ट रहेका बास्कोटाले अन्य दुई सांसद सूर्य पाठक र प्रेम आलेसँग मिलेर आफूबिरुद् षडयन्त्र गरेको उनले जिल्ला प्रसासनमा दिएको उजुरीमा उल्लेख छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र बास्कोटा मन्त्री पदबाट बाहिरिए पनि ओलीको बालकोटस्थित निवासमा बस्दै आएका छन्।