arrow

कोरोना संक्रमित नाघे २६ सय

logo
प्रकाशित २०७७ जेठ २२ बिहिबार
corona-nepal-health.jpg

काठमाडौं । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । सोमध्ये ३१९ पुरुष र १५ महिला छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या जम्मा दुई हजार ६३४ पुगेको छ । जसमा दुई हजार ४५० पुरुष र १८४ जना महिला छन् । कोरोना संक्रमित जिल्लाको सङ्ख्या भने ६५ पुगेको छ । त्यसैगरी कोरोना भाइरसलाई जितेर आज मात्रै १२ जना घर फर्किनुभएको छ ।  यससैँगै निको भएर घर फर्कनेको सङ्ख्या २९० पुगेको छ । 

त्यसैगरी कोरोना भाइरसको संक्रमणका कारण नेपालमा थप एक जना व्यक्तिको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

 पाल्पाकै स्थानीय क्वारेन्टिनमा बस्नुुभएका उाी भारतबाट पाँच दिन अघि नेपाल आउनुभएको थियो । उहाँलाई स्वास्थ्यमा समस्या भएपछि पाल्पाको तानसेनस्थित मिसन अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा यही जेठ २० गते निधन भएको थियो । मृत्युपछि उहाँको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 

पछिल्लो २४ घण्टामा मुलुकभर पीसीआर विधिबाट तीन हजार ८६७ परीक्षण भएको छ भने आरडीटी विधिबाट पाँच हजार १८५ जनामा परीक्षण गरिएको छ । क्वारेन्टिनमा हालसम्म एक लाख ६१ हजार २६२ जना छन् ।



लोकप्रिय समाचार
नयाँ