काठमाडौं । चक्रवात ‘निसर्ग’ को प्रभावका कारण देशैभर वर्षा गराएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र अरब सागरमा रहेको ‘निसर्ग’ चक्रवात कमजोर भई बनेको न्युन चापिय क्षेत्रको प्रभाव रहेको छ।
हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १,प्रदेश २, गण्डकी प्रदेश र बागमती प्रदेशभरी तथा प्रदेश ५ को अधिकांश भागमा मध्यम वर्षा भैरहेको महाशाखाले जनाएको छ ।
आगामी २४ घण्टा देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको साथै उच्च हिमाली भेगका केही स्थानहरुमा हिमपातको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
शुक्रबार दिउँसो प्रदेश १, २, ५, बागमती र गण्डकी प्रदेश मा पूर्ण बदली रही बाँकी भू(भागमा मौसम सामान्य बदली रहनेछ । प्रदेश ५, सु।प। प्रदेश, कर्णाली तथा गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १,२, बागमती प्रदेश र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राति पनि उही अवस्था रहेको महाशाखाले जनाएको छ । शनिबार पनि शुक्रबारको जस्तै मौसम रहने महाशाखाले जनाएको छ ।
आइतबार केही सुधार हुने भए पनि वर्षा, मेघगर्जन र चट्याङ केही भागमा पर्ने महाशाखाको पूर्वानुमान छ ।
काठमाडौंमा बढ्यो चिसो
काठमाडौं उपत्यकामा भने अचम्मैसंग चिसो महसुस गरिएको छ र शुक्रबार बिहान चिसो हावा लागेको छ । बिहानैदेखि वर्षा भएको छ ।
पछिल्ला केही दिनदेखि नै नेपालभरको मौसम चिसो अनुभव भएको छ । काठमाडौंमा बिहीबार न्यूनतम १७.६ तथा अधिकतम २५.७ डिग्री सेल्सियस तापक्रम हेको थियो ।
त्यस्तै सबैभन्दा बढी जनकपुरमा ३३ तथा सबैभन्दा कम जोमसोममा १० डिग्री सेल्सियस तापक्रम रहेको थियो ।
शुक्रबार र शनिबार पनि तापक्रम नबढ्ने देखिएको छ ।