सप्तरी । प्रहरी र कर्मचारी पछि शुक्रबार स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मी संशकित भएका छन् । बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र नमूना माविको क्वारेन्टाइनका इञ्चार्ज एवं स्वास्थ्यचौकी प्रमुखमा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
निमित्त कार्यालय प्रमुख दुनियालाल यादवले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा बोदे बर्साइन स्वास्थ्यचौकी प्रमुखमा कोरोना संक्रमण भेटिएको बताए । सप्तरीमा संक्रमित हुने स्वास्थ्यकर्मीमा उनी पहिलो हुन् । संक्रमित स्वास्थ्यकर्मीलाई शुक्रबार राजविराजस्थित साइकृष्ण मेडिकल कलेज एण्ड हस्पिटलमा रहेको आइसोलेसन सेन्टर ल्याइएको छ ।
यसअघि यही जेठ १५ गते सोही क्वारेन्टाइनमा खटिएका प्रहरी हवल्दार र कार्यालय सहयोगीसहित क्वारेन्टाइनमा बसेका १२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसअघि जेठ १३ गते सोही क्वारेन्टाइमा बसेका आठ जना संक्रमित भएका थिए । जिल्लाको सबैभन्दा बढी संक्रमित देखिएको बोदे बर्साइनमा संक्रमितको सङ्ख्या २० पुगेको छ । सुरुङ्गा नगरपालिकास्थित मसिलाल जनता माविको क्वारेन्टाइनमा सुरक्षार्थ खटिएका इलाका प्रहरी कार्यालय कडरबोनामा कार्यरत प्रहरी सहायक निरीक्षक पनि जेठ १३ गते संक्रमित भएका थिए ।
क्वारेन्टाइनमा खटिएका प्रहरी, कर्मचारीपछि बोदे बर्साइन–५ भाटिनका ५० वर्षीय स्वास्थ्यचौकी प्रमुखमा समेत कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमा खटिएका अन्य स्वास्थ्यकर्मी र कर्मचारी सशङ्कित भएका हुन् । क्वारेन्टाइनमा कार्यरत स्वास्थ्यकर्मी संक्रमित भएपछि अहिले जिल्लाभरका स्वास्थ्यकर्मी त्रसित बनेका छन् । स्थानीय तहका फिल्डमा खटिने सबै स्वास्थ्यकर्मीको स्वाब दुई÷दुई सातामा जाँच गर्न स्वास्थ्यकर्मीले माग गरेका छन् । जिल्लाका १८ मध्ये १२ स्थानीय तहमा संक्रमण देखिएको छ ।
कोरोनासम्बन्धी समाचार सङ्कलन गर्ने पत्रकारसमेत उच्च जोखिममा रहेको वरिष्ठ पत्रकार एवं प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले बताए । जिल्लाका संक्रमित स्थानीय तहमा सञ्चारकर्मी बिना सुरक्षा उपकरण क्वारेन्टाइनमा छिर्ने, अन्तर्वार्ता लिने, भिडियो बनाउने, फोटो खिच्ने, भारतबाट आएका र सीमामा रहेकाबीच गएर समाचार सङ्कलन गर्ने कार्यले गर्दा उनीहरु जोखिममा रहेका उनले बताए । जिल्लामा क्वारेन्टाइनमा बसेकासँगै प्रहरी, प्रशासन, कर्मचारी, स्वास्थ्यकर्मीको पिसिआर परीक्षण हुँदै आए पनि पत्रकारको नभएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।