विमानस्थल निर्माणका क्रममा विष्फोट गराउँदा दर्जन बढी घरमा क्षति, पीडितहरु आन्दोलनमा (भिडियोसहित)
हरि पन्त,
प्रकाशित २०७७ जेठ २४ शनिबार
135
Shares
पोखरा। राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि विष्फोटन गराउँदा आसपासमा रहेका एक दर्जन भन्दा बढी स्थानीयका घरहरू चर्किएपछि पीडित स्थानीयहरू आन्दोलित भएका छन् ।
पोखरा महानगरपालिका वडा नं. १४, हवेली मार्गका स्थानीयहरू नारा जुलुससहित आन्दोलनमा उत्रिएका हुन् । विमानस्थल निर्माणका क्रममा कडा खालका चट्टानहरू विष्फोट गराएर फाल्नुपर्ने भएको र यसरी गर्दा काम छिटो हुने भन्दै आयोजनाले विष्फोट गराएको थियो । विष्फोटका क्रममा स्थानीयका ठूला तथा साना घरहरू चर्किएका हुन् ।
यस विषयमा जनप्रतिनिधिसहित स्थानीयले विमानस्थल निर्माण आयोजनासंग पटक पटक वार्ता गरेको थियो । उनीहरूले विष्फोट नगराई ड्रिल गरेर चट्टान निकाल्न माग गरेका थिए । तर विमानस्थल आयोजना पक्षले स्थानीयको मागलाई वेवास्ता गर्दै विष्फोटन गराउन नछोडेपछि स्थानीयले संघर्ष समिति नै बनाएर आन्दोलन गरेका हुन् ।
घर चर्किएर तनावमा रहेका स्थानीयहरूले आफूहरू विकास विरोधी नभएको तर विमानस्थलका लागि आफूहरूको उठिवास लाग्न नहुने बताएका छन् । उनीहरू घर चर्किएपछि आफूहरू निकै तनावमा रहेको बताएका छन् ।
स्थानीय मोहन गिरीले विमानस्थलका लागि विष्फोट गराउँदा आफूहरूको मानसिक रुपमा समेत समस्या परेको भन्दै आक्रोश व्यक्त गरे । उनले विष्फोटनको विकल्प रोज्न जिल्ला प्रशासन, वडा कार्यालय र आयोजना प्रमुखसंग पटक पटक संवाद र छलफल गरे पनि वेवास्ता गरिएको बताए ।
अर्का स्थानीय मिनु कंडेल लामिछानेले विष्फोटन नगर्नुस्, विकल्प खोज्नुस भन्दा पनि विमानस्थल पक्षले नटेरेको बताइन् । एकैपटक धेरै मात्रामा विष्फोट गराउँदा आफूहरूको घर कामै नलाग्ने अवस्थामा पुग्न लागेको बताइन् ।
पोखरा महानगरपालिका वडा नं. १४ का जनप्रतिनिधि जितेन्द्रजंग थापाले विमानस्थलको चट्टान ब्रेकरले पनि फुटाउन सक्ने भन्दै विष्फोटको विकल्प खोज्नुपर्ने बताए । उनले विष्पोट गराउँदा हुने असरबारे आयोजना पक्षले सोच्नुपर्ने खाँचो औंल्याए ।
यता, विमानस्थल निर्माण आयोजना प्रमुख ईन्जिनियर विनेश मुनंकर्मी भने स्थानीयले भनेजस्तो क्षति हुने गरि विष्फोट नगराइएको बताएका छन् । विमानस्थलमा अझै पनि चार टन विष्फोटक पदार्थ बाँकी रहेको भन्दै उनले आवश्यक परेको ठाउँमामात्र विष्फोट गराएर काम गरिरहेको स्पष्ट पारे ।
यस विषयमा कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आयोजना पक्ष र स्थानीयसंग समन्वय गरिरहेको बताए । उनले विष्फोट गराउँदा स्थानीयको घरमा क्षति भएको भए विमानस्थल आयोजना क्षतिपूर्ति दिनुपर्ने र स्थानीयले काममा अवरोध गर्न नमिल्ने स्पष्ट पारे ।
विमानस्थल निर्माणको काम अहिलेसम्म ६० प्रतिशत सकिएको छ । आगामी २०२१ जुलाईसम्ममा निर्माण कार्य सक्ने लक्ष्य भए पनि लकडाउनका कारण निर्माण सामग्री र कामदारको अभावका कारण यसमा धक्का पुग्ने देखिन्छ ।
हाल विमानस्थल भित्रै रहेका ८५ जना नेपाली र २५० जना चाइनिज कामदारले मात्र काम गरिरहेका छन् । आयोजना निर्माण शुरु भएको छोटो समयमै उल्लेख्य काम भएको विमानस्थलमा सन् २०२० को अन्त्यसम्ममा सबै काम सम्पन्न गरी २०२१ को जुलाईसम्ममा अन्तर्राष्ट्रिय जहाज पोखरामा ल्याण्ड गर्ने लक्ष्य निर्माण कम्पनीको छ ।