काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च गतिमा पुगेको छ । आइतबार बिहान २४ घण्टाको अवधिमा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । संक्रमितको संख्यामा भारत तेस्रो स्थानमा समेत पुगेको छ ।
भारतमा एकैदिन १० हजार ५२१ जना नयाँ संक्रमित थपिएका छन् । जबकि शनिबार ९ हजार ४७१ जना संक्रमित थपिएका थिए । त्यसअघि शुक्रबार ९ हजार ८३८ जना संक्रमित थपिएका थिए ।
त्यस्तै मृतक २४ घण्टामा २९७ जना थपिएका छन् । शनिबार २९६ जना थपिएका थिए । शुक्रबार २७४ थपिएका थिए । आइतबार अहिलेसम्मकै सबैभन्दा बढी मृतक थपिएका हुन् ।
अहिलेसम्म भारतमा संक्रमितको संख्या २ लाख ४६ हजार ६२२ पुगेको छ । मृतकको संख्या ६ हजार ९४६ पुगेको छ ।
संक्रमित बढिरहे पनि निको हुनेको संख्या समेत बढ्दै गएको छ । आइतबार ५ हजार ४९० जना डिस्चार्ज भएका छन् । जुन अहिलेसम्मकै उच्च हो । अहिलेसम्म १ लाख १८ हजार ६९५ जना डिस्चार्ज भएका छन् ।
यो दर निकै राम्रो हो ।
संक्रमितको संख्या २४ घण्टामा बढ्दा भने विश्वमै भारत तेस्रो स्थानमा पुगेको छ ।
सबैभन्दा बढी ब्रजिलमा २७ हजार ५८१, दोस्रो स्थानको अमेरिकामा २२ हजार ७५३ जना संक्रमित हुँदा भारत तेस्रोमा रहेको हो । चौथो रुसमा ८ हजार ८५५जना संक्रमित भएका छन् ।
कुन ठाउँमा सबैभन्दा बढी प्रभावित
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा २४ घण्टामा २ हजार ७३९ जना संक्रमित बढ्दा ८२ हजार ९६८ पुगेका छन् । त्यस्तै मृतक १२० बढेर २ हजार ९६९ पुगेका छन् ।
तमिलनाडुमा १ हजार ४७६ जना बढेर ३० हजार १७२ जना संक्रमित हुँदा मृतक २५४, दिल्लीमा १ हजार ३२० जना बढेर २७ हजार ६५४ जना संक्रमित हुँदा मृतक ७६१, गुजरातमा ४९८ बढेर १९ हजार ६१७ जना संक्रमित हुँदा १ हजार २१९ को ज्यान गएको छ ।
संक्रमित बढ्दा लकडाउन खुकुलो
यसैबीच भारतमा लकडाउनमा परिवर्तन गरि अनलक शुरु गरिएको छ । भारतको गृह मन्त्रालयले अनलक नाम दिएर सोमबारबाट तीन चरणमा लकडाउन खुल्ने निर्णय गरेको हो ।
अनलक १ जुनदेखि ३० जुनसम्म हुनेछ । जसमा रातको कर्फ्यु कायमै रहनेछ । कर्फ्यु समय साँझ ७ देखि विहान ७ बजेको ठाउँमा अब साँझ ९ देखि विहान ५ बजेसम्म मात्र रहनेछ ।
पहिलो चरणमा ८ जुनबाट धार्मिक स्थलहरु मन्दिर, मस्जिद र चर्चहरु खुल्ने भएका हुन् । होटल, रेष्टुरेन्ट, सेवाका क्षेत्र, सपिङ मलहरु पनि खोल्ने अनुमति दिइने भएको छ ।
दोस्रो चरणमा स्कुल, कलेज, शैक्षिक संस्थाहरु खुल्नेछन् । यसमा राज्य सरकारहरुसँग परामर्श गरी गरिने जनाइएको छ ।
कतिपय राज्यहरुमा १३ जुनबाट विद्यालय खुल्ने भनिएको छ । जुलाईमा भने सबै राज्यहरुमा विद्यालय खुल्ने निर्णय लिइने भएको छ ।
तेस्रो चरणमा अन्तर्राष्ट्रिय हवाई यात्रा, मेट्रो रेल, सिनेमा हल, पौडी पोखरी, मनोरञ्जन पार्क, थिएटर, बार, एसेम्ब्ली हल खोल्न दिइनेछ । यसका लागि निश्चित नियम बनाइनेछ ।
भारतमा लकडाउन खुलेपनि नेपालमा जेठभर लकडाउन कायमै राखिएको छ।