अर्थतन्त्रको सम्बर्द्धन र समृद्धीको लय समात्नेमा आशंका
भक्त बहादुर खड्का,
प्रकाशित २०७७ जेठ २५ आइतबार
82
Shares
गत जेष्ठ १५ गते अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभामा आगामी बर्षको १४ खर्व ७४ अर्व ६४ करोडको वजेट प्रस्तुत गरिहँदा आम नेपालीहरुले वजेटवाट कोरोना संक्रमित नागरिक, समुदाय र व्यवसायलाई बचाउँदै समृद्धीको नविन यात्रा शुरु गर्ने आशा र भरोसा गरेका थिए ।
डा. खतिवडाको विज्ञता र खारिएको अनुभवमा कुनै शंका छैन । उनले केन्द्रीय बैंकको बागडोर सम्हालिरहँदा रियल स्टेट क्षेत्रमा अंकुश लगाई राष्ट्रको अर्थतन्त्र संकटग्रस्त हुनबाट जोगाएको र केवल बचनवाणको अस्त्रले बेलुन झै अप्राकृतिक पोषणवाट फुलेको शेयर वजारलाई वास्तवीक अवस्थामा पुर्याउन चालेको कदमको म पनि एक समर्थक र प्रसंशक हुँ । यसर्थ कोरोना महाव्याधीको विषम परिस्थितीमा तेश्रो पटक संघिय नेपालको वजेट, नीति तथा कार्यक्रम निमार्ण गर्ने ऐतिहासिक अवसर पाएका उनिबाट धेरै अपेक्षा गरिनु स्वाभाविक थियो ।
सरकारको बार्षिक वजेट, नीति तथा कार्यक्रमले आय र व्ययको अनुमानित विवरण, प्राथमिकता र रणनीतिलाई चित्रण गर्दछ । जस्मा आम्दानी र सम्पत्तिको समानुपातिक वितरणबाट सामाजिक कल्याणको प्रत्याभुति दिंदै आर्थिक समानता र क्षेत्रिय सन्तुलन कायम राख्ने, साधन र स्रोतको पुनःस्थापनद्वारा करको दर निर्धारण गरी प्राथमिक क्षेत्रलाई उत्साहित र जनस्वास्थ्यको लागि हानीकारक उत्पादन क्षेत्रलाई निरुत्साहित गर्ने, सिमित स्रोत साधनको प्रभावकारी कार्यान्वयनवाट उच्च आर्थिक बृद्धीदर हासिल गर्ने, निजी क्षेत्रलाई उत्पादनतर्फ आकर्षित गर्ने र मुद्रास्फिती र संकुचनको सन्तुलन कायम गरी आर्थिक स्थायीत्व कायम राख्ने आधारभुत उद्देश्यहरु राखिएका हुन्छन् ।
विषम् परिस्थितिमा आएको आगामी आर्थिक बर्ष २०७७/७८ को वजेट प्राथमिकता क्रमको आधारमा कोरोना संक्रमणको प्रभावबाट नागरिकको सुरक्षा, प्रभावित व्यवसायिक क्षेत्रलाई राहत, विशाल मात्रामा रोजगारी सृजना, कृषि क्षेत्रको युगान्तकारी रुपान्तरण, सिमा सुरक्षा, आत्मनिर्भर उन्मुख अर्थतन्त्र र भ्रष्टाचार नियन्त्रणमा छलाङ मार्ने गरी आउनेमा सर्वत्र चासो र अपेक्षा थियो ।
तर स्रोत व्यवस्थापन, खर्च विनियोजन, प्राथमिकीकरण र रणनीति विचको अन्तरनिहित तादाम्यताका आधारमा प्रस्तुत वजेटको विश्लेषण गर्दा शब्द चयन र भाषिक मिठासमा उष्कृष्ट साहित्य जस्तो र सैद्धान्तिक रुपमा सबै क्षेत्रका चासोलाई समेट्न भ्याएको ८३ पेज र ३४२ दफामा प्रस्तुत वजेटले आशातित् संवेदनशिल र अग्रगामी चासोलाई सम्बोधन गर्न सकेन । प्रस्तुत आलेखमा आगामी बर्षको वजेट, नीति तथा कार्यक्रमको उल्लेखित संवेदनशिल सवालहरुसँग अन्तरनिहित तादाम्यताका आधारमा आलोचनात्मक विश्लेषण गर्ने प्रयास गरिएको छ ।
वजेटको लक्ष्य प्राप्ति र सन्तुलन विश्लेषण
चालू आर्थिक वर्षको कूल १५ खर्व ३२ अर्व ९६ करोडको वजेटको तुलनामा करिब ४ प्रतिशत मात्र संकुचन गरी तर्जुमा गरिएको वजेटले राजश्व संकलनको लक्ष्य भेटाउन गाह्रो छ । तेश्रो त्रैमाससम्म अर्थ व्यवस्था सामान्य अवस्थामा रहेको चालू आर्थिक वर्षको संशोधित राजश्व संकलनको लक्ष्य ७ खर्ब २६ अर्ब ८३ करोडमा हाराहारी २२ प्रतिशत बृद्धी गरी आगामी बर्ष ८ खर्ब ८९ अर्व ६२ करोडको पुर्याइएको छ । कोरोना संक्रमण नियन्त्रमा आई अर्थतन्त्र पुरानै अवस्थामा फर्कन कम्तीमा पनि ६ महिना लाग्ने देखिएकोले राजश्व संकलनको अनुमानित लक्ष्य भेटाउन संभव देखिन्न । यसबाट तलवभत्ता वितरण श्रावणबाटै शुरु हुने भएकोले संकलित राजश्व यसैमा खर्च भई कोरोना संक्रमित र प्रभावित वर्ग समुदाय र क्षेत्रलाई राहत दिने कार्य नराम्रोसंग प्रभावित हुने देखिन्छ । यसर्थ अवस्थाको संवेदनशिलतालाई मनन् गरी चालू खर्च शिर्षक अन्तर्गतका तलवभत्ता र पूँजिगत खर्च अन्तरगतका नागरीक माझ विवादित रातो कार्पेट, जिमखाना लगायतका कैंयन फजुल खर्चहरुमा भारी कटौति गरी १२ खर्ब भन्दा कम आकारको वजेट ल्याएको भए उत्तम हुने देखिन्छ ।
विश्वव्पापी अभ्यासका आधारमा सन्तुलित, अधिशेष र क्रणात्मक गरी तिन किसिमका वजेट निर्माण गर्ने गरिन्छ । राजश्व संकलन र चालू खर्च तथा चालू र पुँजीगत खर्च विच बराबारी अनुपात कायम भएको वजेटलाई सन्तुलित वजेट मानिन्छ । विकासको चरम उत्कर्षमा पुगी विकासका कार्य कम गरेपनि पुग्ने र जेष्ठ नागरिक, वालवालिकाको भरणपोषण, वेरोजगारी भत्ता, निशूल्क स्वास्थ्य र शिक्षा सेवा एवम् अन्तराष्ट्रिय अनुदान लगायतका सामाजिक कल्याणको क्षेत्रमा भारी धनराशी खर्चिने युरोपियन राष्ट्रहरु र अमेरिकामा समेत राजश्व संकलन र चालू खर्च तथा साधारण र पूँजीगत खर्च बिचको अनुपात लगभग हाराहारी हुने गर्दछ।
करिव ६५ प्रतिशत वजेट सरकारी जनप्रतिनिधि एवम् पदाधिकारी, कर्मचारीको तलवभत्ता, अनुदान र संचालनमा, १२ प्रतिशत ऋणको सावा तथा ब्याज भुक्तानीमा खर्चिनु पर्ने र २३ प्रतिशत वजेट मात्रै विकासको निम्ती सदुपयोग हुने तथा स्रोत परिचालन तर्फ करिव ६० प्रतिशत आन्तरीक राजश्वबाट र वांकी ४० प्रतिशत वैदेशिक ऋण, अनुदान एवं आन्तरीक ऋणमा भर पर्नु पर्नुले प्रस्तावित वजेट भारी मात्रामा असन्तुलित देखिन्छ ।
सरकारका जनप्रतिनिधि, पदाधिकारी तथा कर्मचारीको तलव भत्ता र संचालन खर्च समेत ऋण र अनुदानवाट बेहोर्नु पर्ने विद्यमान अवस्थाले राज्य घाटामा संचालन भै लिक्यूडेशनको संघारमा पुगेको कम्पनी जस्तो सावित हुनुका साथै केवल तलवभत्ता र अनुदान वितरणका नित्ति मात्र संचालनमा रहेको जस्तो देखिन्छ । यो अवस्थावाट माथि उठ्न नसके समृद्धी र तिव्र आर्थिक वृद्घिदर हासिल गर्ने सपना पानी जहाजको कथा जस्तै हो ।
यसले विदेशी भूमिमा रगत र पसिना बगाई विप्रेशन भित्राउने नेपालीहरु, आफु टाट पल्टिएर पनि कर तिर्ने व्यवसायीहरु र आधा पेट खाएर भए पनि सम्पत्ति कर तिर्ने विपन्नहरुवाट संकलित राजश्वले केवल सरकारी जनप्रतिनिधि, पदाधिकारी र कर्मचारीको तलवभत्तासम्म समेत नथेग्ने र वैदेशिक अनुदान र ऋणमा भर पर्नु पर्ने डरलाग्दो र लज्जास्पद अवस्थाको चित्रण गर्दछ ।
संक्रमण व्यवस्थापन र जीवन रक्षा
राज्यको तत्कालिन दायित्व र चुनौति भनेको संक्रमणको प्रभावबाट नागरिकको जीवन रक्षा गर्नु हो । यसका लागि आवश्यक परेका सम्पुर्ण कार्य थाती राखेर वजेटमा जिवन रक्षा र राहतलाई प्रमुख प्राथमिकता दिनु पथ्र्यो । तर संक्रमण व्यवस्थापनका लागि निकै न्यून वजेट विनियोजित गरिएको छ । विज्ञहरुले सुझाएको आधारमा पनि कम्तीमा २ खर्ब ५० अर्व हाराहारीको प्रत्यक्ष वजेट यस कार्यका लागि विनियोजन गर्नु पथ्र्यो । साथै विभिन्न क्षेत्रका विज्ञहरुको संयन्त्र बनाई विनियोजित वजेट र अन्य राहत कोषहरुका रकम समेत एकिकृत गरी एकद्वार प्रणाली मार्फत कोरोना संक्रमणको उपचार, लकडाउनवाट अति प्रभावित विपन्न वर्ग, असंगठित क्षेत्रका मजदुर तथा समुदाय, व्यवसाय र क्षेत्रलाई राहत उपलव्ध गराउने तथा वैदेशिक आप्रवाशी मजदुरहरुको उद्धार गर्ने व्यवस्था मिलाएको भए प्रभावकारी हुने थियो ।
न्यून विनियोजित वजेट, छरपष्ट ढङ्गले आएका कार्यक्रम, पुनरकर्जाको व्यवस्था र वित्तीय संस्थाहरुवाट ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराई प्रभावित क्षेत्रका मजदुरहरुको तलवभत्ता तथा व्यवसायलाई राहत दिने व्यवस्थाको प्रभावकारी कार्यान्वयन संभव छैन । विगतका अनुभवका आधारमा पनि वित्तीयसंस्थाहरु यस्को प्रभावकारी कार्यान्वयनमा उदासिन हुने निश्चित छ ।
यदि स्रोतको कमी भएको भए, कोरोना महाव्याधीले राज्य संकटग्रस्त भएको अवस्थामा सरकारी जनप्रतिनिधि, पदधिकारी कर्मचारी (सुरक्षा र स्वस्थ्य क्षेत्रमा खटिएका वाहेक) तथा निवृत्तभरण प्राप्त पदाधिकारी/कर्मचारीहरुको तलवभत्तावाट निश्चित रकम कट्टा गर्न सकिने उत्तम विकल्प थियो । यसबाट विद्यमान विषम् घडिमा समाजसेवाका निम्ती राजनीतिमा लागेका जनप्रतिनिधि एवम् राष्ट्रसेवक कर्मचारीहरुलाई राष्ट्रका निम्ती योगदान दिने ठुलो अवसर समेत प्राप्त हुने थियो । त्यस्तै जनस्तरमा विवादित् रातो कार्पेट, जिमखाना लगायतका कैयन फजुल खर्च र पानी जहाज, रेल प्रकृतिका दिर्घकालिन योजनाहरु यो बर्ष थाती राखी नागरिकको जिवन सुरक्षा र अर्थतन्त्र बचाउन सकिन्थ्यो ।
अर्कातर्फ सार्वजनिक खर्च बृद्धीको प्रमुख कारण भनेको कर्मचारी तन्त्रमा ओभर स्टाफिङको समस्या हो । नेपालको अर्थतन्त्रको आकारका आधारमा विद्यमान कर्मचारीको ५० प्रशित कर्मचारी भए सहजै राज्य संचालन हुने देखिन्छ । सोहि अनुसार वजेटमा ५० प्रतिशत कार्मचारी कटौती गर्ने, कार्यसंपादन मुल्यांकनलाई प्रभावकारी बनाउने र कर्मचारीको तवब भत्ता बृद्घि गर्ने व्यवस्था गरिएको भए भ्रष्टाचार नियन्त्रण, कार्य सम्पादन र व्ययभार कटौतीमा उल्लेख्य प्रभाव पर्ने थियो । यस्वाट चिया गफ र व्यक्तिगत कार्यको भरमा राज्यकोष रित्याउने कर्मचारीहरुको विस्थापन र राहतकोषका लागि आवश्यक स्रोत व्यवस्थापन गर्न सकिन्थ्यो । तर वजेटको ध्यान यसतर्फ गएको देखिएन ।
कृषि क्षेत्रको रुपान्तरण र रोजागारी सृजना
विश्वका हरेक राष्ट्रले स्थानिय र मौलिक क्षमतामा आधारित क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधार मान्ने गर्दछन् । यसको प्रमुख कारण भनेको यस्ता क्षेत्र स्थानिय स्रोत, साधन र सिपमा आधारित हुनु, उत्पादन लागत कम हुनु र वाह्य परिवर्तनवाट कम प्रभावित हुनु नै हो ।
कोरोना संक्रमण महासंकटको पछिल्लो अनुभवले कृषि नै नेपालको दिगो अर्थतन्त्र र समृद्घिको निर्विकल्प आधार क्षेत्र भन्ने अनुभुत गराएको छ । यसर्थ वजेटले कृषि क्षेत्रलाई वजेट विनियोजन, नीति तथा कार्यक्रमद्वारा प्रमुख प्राथमिकता साथ सम्बोधन गर्नु पथ्र्यो । तर प्रस्तुत वजेटमा सैद्धान्तिक रुपमा कृषिलाई महत्व दिइए जस्तो देखिएता पनि अति न्यून विनियोजित वजेट र छरपष्ट कार्यक्रमवाट आशातित् रुपान्तरण हुने संभावना देखिंदैन ।
गमला, नदी उकास, खेतका आली र राजमार्गको आसपास खेतिवाट कृषि रुपान्तरण गर्न खोज्नु हास्यास्पद विषय हो । यसका लागि शुरुवातीमा कूल पुँजीगत खर्चको ५० प्रतिशत हाराहारीको आक्रामक वजेटको विनियोजन, कृषि क्षेत्रमा मात्रै सरल र सुलभ ढङ्गले कर्जा प्रवाह गर्ने छुट्टै वित्तीय संस्था स्थापना र निजी क्षेत्रको लगानी आकर्षण गर्ने खालका रणनीतिक व्यवस्था चाहिन्थ्यो । तव मात्रै व्यवसायीकरण, औद्योगीकरण र यान्त्रिकीकरण गर्दै विद्यमान निर्वाहमुखि कृषिलाई रुपान्तरण गर्न सकिन्थ्यो ।
त्यस्तै अन्तराष्ट्रिय श्रम संगठन (आईएलओ) को विश्वव्यापी प्रक्षेपण अनुसार कोरोना महासंकटका कारण करिव ५० प्रतिशत कामदार रोजगारवाट विस्थापित हुनेछन् । यस हिसाबले ३० लाख हाराहारी नेपाली कामदारहरु स्वदेश फर्कने सम्भावना छ । वजेटमा तिनीहरुको व्यवस्थापनको लागि तालिम र सहुलियतपुर्ण ऋणको व्यवस्था गरिएको छ, जुन विद्यमान अवस्थामा व्यवहारीक र प्रभावकारी छैन । किनभने काम गर्ने वातावरण नपाए विदेश जानु परेका र संक्रमण प्रभाववाट थलिएका उनीहरुले तत्काल स्वरोजगरको जोखिम लिन सक्ने सम्भावना देखिंदैन ।
यसर्थ गरिवी निवारणको नाममा भौंतारिएको करिव १९ अर्ब, प्रधानमन्त्री रोजगार कोषको ११ अर्ब ६० करोड, प्रधानमन्त्री कृषि कार्यक्रमा विनियोजित ३ अर्व २२ करोड, राष्ट्रपति चुरे संरक्षणकोषको १ अर्व ५५ करोड, संसद विकास कोष र निस्कृय अवस्थामा रहेका तर व्ययभार वहन गरिरहनु परेका विभिन्न समिति, कार्यक्रम र कोष लगायतका कार्यकर्ता पोषक र अपारदर्शीको रुपमा सर्वत्र विवादित कोष तथा कार्यक्रम खारेज गरी ती कोषका रकम कृषिमा विनियोजन गरी कृषि औद्योकीकरणमा क्रान्ति ल्याउन र अथाह राजगारीको अवसर सृजना गर्न सकिने अवसर थियो ।
त्यस्तै निजी क्षेत्रवाट सञ्चालित स्वाथ्य र शिक्षण संस्थाहरुलाई सम्पत्ति र दायित्वको ड्यू डिलिजेन्स् अडिटका आधारमा क्षतिपुर्ति दिने गरी राष्ट्रियकरण गर्ने र उनिहरुलाई विशेष सहुलियतका साथ कृषि क्षेत्रमा आकर्षित गर्ने व्यवस्था मिलाउन सकेको भए विस्थापित आप्रवासी नेपाली कामदारहरुको रोजगार थलो बनाउन सकिने र कूल गार्हस्थ उत्पानमा करिव ३० प्रतिशत हाराहारी योगदान रहेको विप्रेषणको परनिर्भरता स्वतः घट्नुका साथै कृषि आयात निरुत्साहित तथा निर्यात प्रबद्धन भई आत्मनिर्भर अर्थतन्त्र तर्फ उन्मुख हुने अवसर थियो ।
तर प्रस्तावित वजेट यस्ता सुवर्ण अवसरको युगान्तकारी सदुपयोग गर्नमा नराम्रोसंग चुकेको देखिन्छ । उपरोक्त विश्लेषणका आधारमा संशोधाविना प्रस्तावित वजेटवाट कृषि क्षेत्रको रुपान्तरण, आत्मनिर्भर अर्थतन्त्र र रोजगारी सृजनाको आवस्यतालाई संबोधन गर्न सक्ने देखिंदैन ।
सुशासन र भ्रष्टाचार नियन्त्रण
ट्रान्सपरेन्सी इन्टरनेसनलको पछिल्लो प्रतिवेदन अनुसार नेपाल भ्रष्टाचारको अवस्थाका आधारमा विश्वको १ सय १३औं स्थानमा रहनु र विकास वजेटको लगभग ३० देखि ५० प्रतिशतसम्म भ्रष्टाचार हुने तत्थ्यांक सार्वजनिक हुनुले लज्जास्पद् स्थितिको चित्रण गर्दछ । नेपालको समृद्घिको प्रमुख बाधक भनेको व्याप्त भ्रष्टाचार नै हो ।
पर्याप्त वैधानिक संयन्त्र र कानूनी व्यवस्थाका वावजुद नेपालमा व्याप्त भ्रष्टाचार नियन्त्रण हुन नसक्नुमा स्वयम् सरकार र यसका संबैधानिक निकायहरु नै भ्रष्टाचारमा संलग्न हुनु, कर्मचारीतन्त्रमा भ्रष्टाचार संस्कृतिको रुपमा मौलाउंदै जानु र आम नागरिकले त्यसको प्रतिकार गर्नुको सट्टा लाहाचार भई खुरुखरु घुस दिदै जानु प्रमुख कारणहरु हुन् ।
यसर्थ भ्रष्टाचार नियन्त्रणमा विद्यमान पद्घति र संरचना अर्थहिन सावित भएको वर्तमान परिपे्रक्ष्यमा उन्नत अनलाइन प्रविधिको अकितम् प्रयोग, नविन प्रविधिमा कार्य सम्पादन गर्न नसक्ने र भ्रष्टाचारको कुलत् बसेका पुराना कर्मचारीहरुलाई उचित लाभ सहित अवकास, सरकारी जनप्रतिनिधि, पदाधिकारी र कर्मचारीहरुको लागि नियूक्तिका बखत र कार्यालयमा दैनिक “म एक चेतनशिल प्राणी हुं त्यसैले कहिल्यै भ्रष्टाचार र काममा ढिला सुस्ती गर्ने छैन, भ्रष्टाचार गर्नु भनेको नेपाल आमा र नेपाली जनताको रगत र पसिना सेवन गरे सरह ठान्ने छु,” भन्ने प्रकृतिको प्रतिज्ञा पाठको व्यवस्था तथा व्याप्त भ्रष्टाचार हुने निकायहरु जस्तै राजश्व, मालपोत, नापी, उद्योग तथा कम्पनी व्यवस्थापन, श्रम स्विकृती, चालक अनुमतिपत्र, राहदानी र अध्यागमन लगायतका सेवा निजी कम्पनी (एजेण्ट) लाई करारमा दिने र सरकारले कानुन निर्माण, कडा नियमन र नियन्त्रण गर्ने व्यवस्था गरेको भए प्रभावकारी कदम हुन सक्थ्यो ।
प्रस्वावित वजेट नीति तथा कार्यक्रममा “म भ्रष्टाचार गर्दिन र हुन दिन्न, ” भन्ने प्रावधान र सार्वजनिक सेवा प्रवाहमा अनलाईन प्रविधिलाई प्राथमिकताका साथ लागू गरिने व्यवस्था गरिनु केहीं हद सम्म भ्रष्टाचार नियन्त्रणमा चालिएको नयां कदमको रुपमा लिन सकिन्छ । तर सही अर्थमा भ्रष्टाचार नियन्त्रण गर्न उल्लेखित नविन रणनीतिहरुको थालनी र हालै १० गुणा भन्दा बढि भ्रष्टाचार बढाइरहेको मालपोत र कम्पनी रजिष्ट्रारको कार्यालयत लगायतमा संचालित भद्दा र सुस्त अनलानइन प्रविधिको पुनरावलोकन गर्ने बारे वजेटको ध्यान पुग्नु आवश्यक थियो तर त्यस्तो देखिएन ।
राष्ट्रियता र सिमा सुरक्षा
नेपालीहरु भोक र रोगवाट मर्न तयार छन् तर महान विर पुर्खाहरुको रगत र बलिदानवाट आर्जीत, सदा स्वतन्त्र र अटल मातृभूमि नेपाल माथि कसैको वक्रदृष्टी र अतिक्रमण सहन सक्दैनन् भन्ने कुरा भारतवाट सन् १८६२ देखि अतिक्रमित नेपाली भूमिहरु कालापानी, लिम्पियाधुरा र लिपुलेक सम्बन्धमा पछिल्लो पटक उत्पन्न सिमा विवादको सम्पुर्ण नेपाली एक ठाऊँमा उभिएर एक स्वरले प्रतिवाद गर्नुवाट प्रमाणित हुन्छ ।
यहाँसम्म आईपुग्दा आम नेपाली छिमेकी राष्ट्र भारत तर्फको १ हजार ६ सय ९० किलोमिटर र चीनतर्फको १ हजार ४ सय १४ किलोमिटर खुल्ला र अव्यवस्थीत सिमाना पनि नेपालको समृद्घिको एउटा ठुलो बाधक हो भन्ने निस्कर्षमा पुगेका छन् । खुल्ला सिमानाका कारण सिमा अतिक्रमण र विवाद, राष्ट्रियताको सुरक्षामा खतरा, बाह्य राजनीतिक हस्तक्षेप, आप्रबासी आगमन, मानव बेचविखन, सिमा तस्करी, लागूऔषधि ओसारपसार र आतंककारी कृयाकलाप जस्ता घातक गतिविधिहरुले मौलाउने प्रसय पाइरहेको सर्वत्र महसुस गरिएको छ ।
यसर्थ नेपालको चौतर्फी सिमानामा पर्खाल लगाई भारत र नेपालका नागरीकहरुको आवतजावतमा समेत अनिवार्य प्रवेशाज्ञाको व्यवस्था लागू गरिएमा मात्र सिमा अतिक्रमण र भारतिय तिव्र आप्रवासी आगमनवाट नेपालको राष्ट्रिता जोगाउन र समृद्घिको यात्रा तय गर्न सहज हुने थियो ।
सर्वत्र व्यक्त जनचासोको संवेदनशिलतालाई आत्मसाथ गर्दै वजेटमा सिमाना पर्खाल लगाउने नीतिगत व्यवस्था मात्रै गरिदिएको भए नेपाली जनता र सम्बन्धीत स्थानिय तहले आफै वजेटको जोहो गरी सिमा पर्खाल लगाउने थिए । तर वजेट सत्ता बाहिर हुँदा राष्ट्रवादको उग्र नारा दिने, सत्तामा पुगेपछि लम्पसार हुने भन्ने नागरिकहरुको आरोपवाट माथि उठेर राष्ट्रको समृद्धी र राष्ट्रियताको रक्षा जस्तो विषयमा संवेदनशिल देखिएन ।
निष्कर्ष
यद्यपि वजेटको उपलब्धी कोरोना संक्रमणको नियन्त्रण र प्रभावकारी कार्यान्वयनमा निर्भर गर्ने छ । विज्ञता नियन्त्रण र विवेकको द्विविधावाट यथास्थितीको निरन्तरता स्वरुप आएको वजेटले नागरिकको जीवन रक्षा, अर्थतन्त्रको सम्बर्द्धन र समृद्धीको लय समात्नेमा आशंका छ । (लेखक पुर्व एनसिडी बैंंकका नायव प्रमुख कार्यकारी अधिकृत र तिलोत्तमा बुद्घज्योति लायन्स क्लवका चाटर्ड प्रेसिडेन्ट हुन्)