टोकियो। चीनले कोरोनाभाइरसको महामारीकै बेलामा दक्षिण चीन सागरमा अन्य देशहरूलाई धम्काउने उद्देश्यले बढ्दो नौसैनिक गतिविधि बढाएको अमेरिकी सेनाले आरोप लगाएको छ। जापानमा रहेका अमेरिकी सेनाका कमाण्डरले सैन्य गतिविधी बढाएर चीनले दक्षिण चीन सागरमा क्षेत्रीय दावी बढाइरहेको आरोप लगाएको हो।
बेइजिङ्गले समुद्री जलवाहक जहाज, तटरक्षक दल र माछा मार्ने डुंगा, नौसैनिक सेनासहित दक्षिण चीन सागरमा गतिविधिको वृद्धी गरेको छ, अमेरिकी सेनाका लेफ्टिनेन्ट जनरल केभिन स्नाइडरले बताएका छन्।
"कोभिड संकटको बेलामा पनि हामीले समुद्री गतिविधिमा वृद्धि देख्यौं," उनले फोन अन्तर्वार्तामा भने, "बेइजिङ्गले पूर्वी चीन सागरमा पनि आफ्नो गतिविधि बढाएको छ, जहाँ जापानसँग क्षेत्रीय विवाद छ। बेइजिङ्गको गतिविधिको स्तर बृद्धि दिन प्रतिदिन बढ्दै जाँदैछ।"
चीनले यस क्षेत्रमा समुद्री गतिविधि शान्तिपूर्ण रहेको बताउदै आएको छ। अमेरिकी सेनाको सबैभन्दा ठूलो उपस्थिति एसियामा केन्द्रीत छ जसको मुख्य आतिथ्य जापानले गर्दै आएको छ। जसमा एक विमान वाहक स्ट्राइक ग्रूप, नौसेनाको टुकडी र एक्स्पिडिशनेरी फोर्स तैनाथ छन्। उनीहरु जापानको रक्षा अतिरिक्त दक्षिण चीन सागर लगायतका क्षेत्रमा चीनलाई आफ्नो प्रभाव विस्तार गर्नबाट रोक्नको लागि अवस्थित छन्।
बेइजिङ्गले कोरोनाभाइरसको बारेमा प्रारम्भमा सूचना लुकाएको वाशिंगटनले भन्दै आए पनि ट्रम्प प्रशासनले आफ्नो गल्तीहरू ढाक्नका लागि गरेको प्रयासको रूपमा चीनले उक्त आरोपलाई खारेज गर्दै आएको छ।
बेइजिङ्गले फिलिपिन्स, भियतनाम र मलेसियालगायत अन्य देशहरूले दाबी गरेको पानीको नजिक वा ऊर्जा समृद्ध दक्षिण चीन सागरका भागहरुमा कृत्रिम सैन्य टापुको निर्माण गर्दै सैन्य केन्द्र बनाउदै आएको छ। उक्त क्षेत्रमा चीनले अगस्ट १६ सम्म एकपक्षीय रुपमा माछा मार्न समेत प्रतिबन्ध लगाएको छ। चीनको यो गतिविधीले यस क्षेत्रमा तनाव उत्पन्न हुनसक्ने आँकलन समेत गरिएको छ।