डोटीमा १९ लाख बराबरको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण
प्रकाश बम,
प्रकाशित २०७७ जेठ २६ सोमबार
88
Shares
डोटी । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण रोकथाम, स्वास्थ्य जाँच तथा क्वारेण्टाइन व्यवस्थापनमा निकै समस्या देखिएको छ ।
हजारौंको संख्यामा भारतबाट सुदूरपश्चिमेलीहरु स्वदेश फर्केपछि कोरोनाको जोखिम निकै बढेको छ । भरपर्दो स्वास्थ्य परिक्षण नहुँदा, क्वारेण्टाइन व्यवस्थित नहुँदा जोखिम उच्च बनेको छ ।
स्थानिय सरकारलाई क्वारेण्टाइन र भारतबाट आउने नागरिकलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको छ । यसै बीच समाज सेवी भक्तराज जोशी खाद्यान्न, स्वास्थ्य सामग्रीसहित डोटी पुगेका छन् । मानवीय सेवा समर्पित जोशीले विभिन्न समयमा सामाजीक कार्यमा सहयोग गर्दै आएका छन् ।
डोटी स्थायी घर भै कैलाली बस्दै आएका जोशी लकडाउनमा भारतबाट आउने नेपालीको उद्धार देखि क्वारेण्टाइनमा चाहिने बेड विस्तारा, खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण, स्वास्थ्यकर्मीलाई चाहिने स्वास्थ्य सामग्री लगायतको जोह गरि वितरण गर्न व्यस्त छन् ।
आइतबार समाजसेवी जोशीले मानवीय सेवामा अनेकौं प्रयास नामक संस्था अन्तर्गत १० वडा जिल्लामा सञ्चालित केयर एण्ड रिलिफ परियोजनाको आपतकालिन राहत तथा उद्धार कार्यक्रम अन्तर्गत डोटीका तीन वटा स्थानिय तहहरुलाई खाद्यान्न र जिल्ला अस्पताललाई स्वास्थ्य सामग्री वितरण गरेका छन् ।
जोशीले यस अघि पनि सायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्विचौकी गाउँपालिका र जिल्ला अस्पताललाई सहयोग गरिसकेका छन् ।
यसपटक जोशीले सायल गाउँपालिका, आदर्श गाउँपालिका, पुर्विचौकी गाउँपालिका र जिल्ला अस्पताललाई सहयोग गरेका छन् ।
उनले सायल गाउँपालिका र आदर्श गाउँपालिकालाई आइतबार ३०–३० क्विन्टल मध्यम मसिनो चामल, ३–३ क्विन्टल मुसुरोको दाल र ३–३ क्विन्टल आलुका दरले हस्तान्तरण गरेका हुन् ।
खाद्यान्न सामग्री आदर्श गाउँपालिका अध्यक्ष टेक रोकाय र सायल गाउँपालिकाकी उपाध्यक्ष बिस्ना सिंहलाई हस्तान्तरण गरेका हुन् ।
त्यस्तै पूर्विचौकी गाउँपालिकालाई ४० क्विन्टल मध्यम मसिनो चामल, ३ क्विन्टल ९० किलो मुसुरोको दाल र ४ क्विन्टल आलु वितरण गरेका छन् । उक्त खाद्यान्न सामग्री पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीलाई हस्तान्तरण गरेको अध्यक्ष जोशीले बताए ।
यस्तो विपतको घडीमा संस्थाले उपलब्ध गराएको खाद्यान्न सामग्रीले आफुहरुलाई ठूलो सहयोग पुग्ने पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए ।
खाद्यान्न सामग्री क्वारेन्टिनमा बसेकाहरुका लागि वितरण गरिएको जोशीले बताए । जोशीले आफूले दिएको ब्राण्डको खाद्यान्न क्वारेन्टिनमा बसेकालाई दिन स्थानिय सरकारलाई अनुरोध गरेका छन् ।
सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस डोटीका नेता राप्रसाद उपाध्यायले सहयोग स्वरुप उपलब्ध भएको खाद्यान्न सामग्रीको सही सदुपयोग हुनु पर्नेमा जोड दिए ।
त्यस्तै जिल्ला अस्पताल डोटीलाई केयर एण्ड रिलिफ परियोजाको स्वास्थ्य तथा सरसफाई कार्यक्रम अन्तरगत अस्पतालका कोरोना बिरामीकालागि म्याट्रेस बेडिङ्ग फोम २५ थान, बल्याङ्केट २५ थान, तकिया २५ थान, तन्ना २५ थान र दुई हजार थान सर्जिकल मास्क जिल्ला अस्पताल डोटीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट जोती पाण्डेलाई जोशीले हस्तान्तरण गरेका हुन् ।
सामग्री बुझ्दै सुपरिटेन्डेन्ट पाण्डेले यस्तो विपतको घडीमा संस्थाले उपलब्ध गराएको स्वास्थ सामग्रीले अस्पताललाई ठूलो सहयोग पुग्ने बताए ।
सामग्री उपलब्ध हुँदा काम गर्ने स्वास्थ्यकर्मीको मनोबल बढ्नुका साथै काम गर्न सहज हुने उनले बताइन् । अस्पतालमा अहिले १० वटा मात्र आइसोलेसन बेड रहेका छन् ।
यो सामग्री उपलब्ध पश्चात थप आइसोलेसन बेड बनाइने बताए । यसै क्रममा जोशीले डोटीका पत्रकारहरुलाई फोटो पत्रकार महासंघ डोटी शाखा मार्फत स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।
जोशीले यसअघि पनि कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि डोटीमा स्वास्थ्य सामग्री, क्वारेन्टिनका लागि सामग्री, विपन्नका लागि राहतको व्यवस्था गरेका थिए ।
डोटी लगायत अन्य जिल्लाहरुमा समेत उनले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आएका छन् ।
आइतबार १८ लाख ८४ हजार आठ सय चौध रुपैयाँ बराबरको खाद्यान्न तथा स्वास्थ सामग्री हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष जोशीले बताए ।