जर्जको घाँटी च्यापेर हत्यासँगै जारी कर्फ्यू हट्यो, हिंसापछि खुल्यो न्यूयोर्क
प्रकाशित २०७७ जेठ २६ सोमबार
130
Shares
न्यूयोर्क। न्यूयोर्कका मेयर बिल डी ब्लासियोले न्यूयार्क शहरमा एक सातादेखि लगाइएको निषेधाज्ञा हटाएको घोषणा गरेका छन् । गत मे २५ मा फ्लोइडको हत्या भएपछि देशभर भएका प्रदर्शनहरू हिंसात्मक बनेका थिए ।
मिनियापोलिस राज्यमा प्रहरी नियन्त्रणमा एक अश्वेत व्यक्ति जर्ज फ्लोएडको मृत्यु भएपछि भड्किएको हिंसा र प्रदर्शनका कारण न्यूयोर्क शहरमा एक सातासम्म निषेधाज्ञा लगाइएको थियो । अराजक र उग्र भिडले न्यूयोर्कमा तोडफोड, आगजनी र लुटपाट गरेको थियो ।
आन्दोलनका क्रममा दर्जनभन्दा बढीको मृत्यु भइसकेको छ भने करोडौँ अमेरिकी डलर बराबरको भौतिक क्षति भएको छ । अमेरिकाको मिनियापोलिसस्थित प्रहरी कार्यालयमा श्वेत प्रहरीले घाँटी च्यापेर ४६ बर्षीय फ्लोइडको हत्या गरेको आरोप लगाइएको छ ।
घाँटी च्यापेर हत्या गरेको भिडियो सार्वजनिक भएपछि आन्दोलन चर्किएको थियो भने सरकारले छानविन प्रक्रिया पनि अगाडि बढाएको छ । प्रहरीले हत्या आरोपित प्रहरीलाई बर्खास्त गरेर नियन्त्रणमा लिई छानविन गरिरहेको छ ।
मेयर ब्लासियोले ट्वीटरमार्फत निषेधाज्ञा हटाइएको घोषणा गरेका थिए । न्यूयोर्क शहरको ७५ वर्षको इतिहासमा पहिलो पटक निषेधाज्ञा जारी गरिएको थियो ।
कोरोनाभाइरस महामारीका कारण झण्डै दुई महिना लकडाउन गरिएको न्यूयोर्क शहरमा आर्थिक गतिविधिलाई पुनर्जीवित तुल्याउन यही सोमबारदेखि पहिलो चरणको खुला गर्ने तयारी गरिएको छ ।
अमेरिकाकै सबैभन्दा बढी जनघनत्व रहेको न्यूयोर्कमा २१ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसका कारण ज्यान गएको थियो ।
अधिकारीहरुका अनुसार पहिलो चरणमा निर्माण र उत्पादनका कार्यहरु पुनः खुला हुनेछन् । खुद्रा पसलहरुमा मानिसको भिडभाड नहुने शर्तमा खुला गर्न दिइने छ ।
न्यूयोर्कमा परिस्थिति नाजूक भएपछि मेयर ब्लासिओले गत जुन २ देखि निषेधाज्ञा जारी गरेका थिए। तर धेरै प्रदर्शनकारीले निषेधाज्ञा तोडेका थिए ।