नुवाकोट। नुवाकोटको तादी र लिखु खोलामा लकडाउनको अवसर पारेर नियम विपरित नदीजन्य पदार्थ निकाल्ने क्रम बढेको छ । तादी र लिखुको साथै सलाखु र फलाखु खोलामा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन गर्ने क्रम बढेको छ । खोलाहरुमा अवैध रुपमा संचालित क्रसरवालाले नदीजन्य पदार्थ उपकरण लगाएर झिकेका छन् । हेभी इक्वीमेन्ट प्रयोग गरेर सिधै खोलाबाट ढुंगा,गिटी र बालुवा रातको समयमा झिक्ने गरेको स्थानीयवासिन्दाले बताएका छन् । स्थानीयवासिन्दाले विरोध गरेपनि सरोकारवाला निकाय एकले अर्कोलाई देखाएर पन्छिने र जिम्मेवारी लिने नगरेको पाइएको छ। अझ जनप्रतिनिधिहरुले नै ढुंगा, गिटी र बालुवा झिक्नका लागि नियम मिचेर दिएको स्थानीयवासिन्दाको आरोप लगाएका छन् ।
नुवाकोटको जिल्ला अनुगमन तथा समन्वय समितिले आफ्नो दायित्व नभई स्थानीय अनुगमन समितिले हेर्ने भनेर पन्छिएको छ। विदुर नगरपालिका वडा नम्बर ५ भत्तेरेमा हिमदुङ एण्ड थोकरको नामबाट र उक्त वडाको घोडघाढ नागार्जुन कन्ट्रक्सनको नाममा र बेलकोटगढीनगरपालिका १० बीचको खोलामा स्काईभेटरले नदीजन्यपदार्थ झिकिरहेका छन् । भत्तेरे पक्की पुल नजिक ढुंगागिटी र बालुवा झिक्दा जोखिममा पर्ने सक्ने स्थानीयवासिन्दाले बताए । सरोकारवाला निकाय मौन बस्दा कुनै सुनुवाई नभएको स्थानीयवासिन्दाको बताए ।
‘रातभर झिक्छन्, एक स्थानीयले भने, ' डोजर र टिपरको आवाजले सुत्न सकिन्न । मेयरलाई भनेको प्रशासनले दिएकोले हामीले रोक्न नमिल्ने भने ।’ सडक बनाउन खोलाबाट ढुंगा, गिटी र बालुवा झिक्न दिएको बताएपनि झिकिएका नदीजन्य पदार्थ थुपारेर राखिएको छ । सडक बनाउने आयोजनालाई साढे १७ हजार घनमिटर झिक्ने अनुमति विदुरनगरपालिकाले दिएको स्थानीयले बताएपनि एक लाख घनमिटर बढी ढुंगा, गिटी र बालुवा झिकिएको छ ।
ढुंगा, गिटी र बालुवा प्रारम्भिक वातावरणीय अध्ययन गराएर झिक्न दिएको पनि एकै पटक धेरै मेशिन हालेर नदीजन्यपदार्थ झिक्ने आईईइ गरेको, प्राविधिकले हेरेर चिन्ह लगाएर झिक्न दिएको विदुर नगपालिकाले जनायो । ‘हामीले प्रक्रिया पुर्याएर दिएका छौ । खोलाको दायाँबायाँबाट झिकेका छन्।,’ विदुरनगरपालिकाका मेयर सन्जु पण्डितले भने,‘नियम मिचेका छैनौ ।’
जिल्लामा संचालित विकास आयोजनालाई चाहिने ढुंगा,गिटी, बालुवा झिक्न दिएको विदुरनगरपालिकाले भनेपनि नियम मिचेर तोकिएको मापदण्ड अनुसार नभएको पाइएको छ । प्रारम्भिक वातावारणीय प्रतिवेदन अनुसार ७५ सेन्टीमिटर झिक्ने, एउटा मात्र मेशिन प्रयोग गर्ने, पक्की पुल नजिक झिक्न नपाईने लगाएतका नियम छ। तर खानी विभागको नियम देखाएर मेयर सन्जु पण्डितले उत्खनन गर्न दिएका छन्।
झिकिएका नदीजन्यपदार्थ आफ्नो सेयर रहेको बर्डस्टोन क्रसरमा कुट्न पर्ने शर्त मेयरले राखेको स्रोतले जनाएको छ । ढुंगा, गिटी र बालुवा आयोजना नाम देखाएर थुपारेर राखेको छ । नदी दोहन हुँदा पनि जिल्ला प्रहरी कार्यालयले अनुगमन गरेको छैन । प्रहरीले नियम गर्ने कार्य गरेको छैन । जिल्ला प्रहरी कार्यालय प्रमुख एसपी अबिनारायण काफ्लेले नदी उत्खननमा नगरपालिका र गाउँपालिकाले पत्र देखाउने गरेको भन्दै पन्छिए । ‘प्रहरीले हेरेको छ ।’ एसपी काफ्लेले भने, नियमन र अनुमगनम गर्ने काम जिल्ला समन्वय समितिको प्रमुखको हो ।’ ढुंगा,गिटी र बालुवा झिक्नको लागि स्थानीय तहको अधिकार भनेर जिल्ला प्रशासन कार्यालय आफ्नो दायित्वबाट पन्छिएको छ ।
प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले असार महिना लागेपछि अनुगमन गरिने बताए । ‘असारदेखि हेर्छौ, प्रजिअ पोखरेलले भने, जिल्ला समन्वय समितिबाट स्वीकृति लिएर उपकरण प्रयोग गरेको भन्ने सुनेको छु ।’ ढुंगा, गिटी र बालुवा झिक्न विदुर नगरपालिका, लिखु गाउँपालिका, बेलकोटगढी नगरपालिका र पन्चकन्या गाउँपालिकाले स्वीकृति दिएका छन् ।
नुवाकोट जिल्ला समवन्य समितिले ढुंगा, गिटी र बालुवा कहाँ झिकेको छ र भनेर उल्टै सोध्दै समितिका प्रमुख सन्तमान तामाङले भने ‘स्थानीय सरकार छन् । स्थानीय अनुगमन समिति अनुगमन गर्ने हो ।’ जिसस प्रमुख तामाङले असार लागेपछि अनुगमन गरिने बताए ।
तादी खोलाको ढुंगा, गिटी र बालुवा झिक्ने काम लिखुगाउपालिका वडा नम्बर ४ गणखारमा अवैध ढुंगा,गिटी बालुवा झिक्ने र अवैध क्रसर कुट्ने काम भैरहेको छ । वडा नम्बर १ को ढिकुरे, पन्चकन्या गाउँपालिका वडा नम्बर २ आप्रको तादी खोला र लिखुखोलाको लिखु गाउँपालिका वडा नम्बर ५ र ६ मा रातिमा उपकरण प्रयोग गरेर झिक्ने काम भएको छ ।
त्रिशूली, तादी, लिखु लगायतमा खोलामा डेढ वर्ष अघि सर्वोच्च अदालतले उत्खनन कार्य नगर्न नगराउन आदेश समेत दिएको छ । २०७० भदौ १७ गतेको निर्णयमा राजमार्गबाट आधा किलोमिटर, पुल, वन र वस्तीबाट २ किलोमिटर बालुवा झिक्न नपाइने प्रविधि तथा वातावरण मन्त्रालयलेले जारी गरेको प्रावधानमा उल्लेख छ। स्रोतका अनुसार ढुंगा,गिटी बालुवा झिक्न करोडौंको चलखेल समेत भएको बताइएको छ ।