arrow

सोती नरसंहारको छानबिन गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा समिति गठन

logo
प्रकाशित २०७७ जेठ २६ सोमबार
rukum-dalit-youth-death.gif

काठमाडौं । संघीय संसद्ले रुकुम(पश्चिम)को चौरजहारी नगरपालिकाको सोतीमा भएको घटनाको छानबिन गर्न सांसद देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन गरेको छ ।

 प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यही जेठ १० गते भएको सोती घटनाको सत्यतथ्य छानबिनका लागि ‘चौरजहारी नगरपालिका सोती घटना छानबिन संसदीय विशेष समिति’  गरिएको जानकारी दिए ।

 प्रतिनिधिसभाको बैठकमा पटकपटक प्रश्न उठेको उक्त घटनाको यथार्थ अध्ययन गरी प्रतिवेदन पेश गर्न आफूले सदनलाई जानकारी गराइसकेको र प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७७ बमोजिम सो समिति गठन गरिएको सभामुख सापकोटाले बताए।
 
समितिका सदस्यमा सांसद एकवाल मियाँ, दुर्गा पौडेल, पार्वतीकुमारी बिसुङ्खे, प्रकाश रसाइली’, विमला विक, महेश्वरराज गहत, मीनबहादुर विश्वकर्मा र रामसहायप्रसाद यादव छन् । सभामुखको निर्देशनमा रही समितिले कार्यविधि तय गरेर लागू गर्न सक्नेछ । 

सो समितिले आवश्यक ठानेमा सम्बन्धित पदाधिकारी वा अन्य व्यक्तिको सहयोग लिन वा समितिमा आमन्त्रण गर्न सक्ने छ । समितिका अन्य कार्यविधि प्रतिनिसिभा नियमावली, २०७५ अनुसार हुनेछ । समितिको समयावधि ३० दिनको तोकिएको छ ।



लोकप्रिय समाचार
नयाँ