काठमाडौं। रूकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको अमानवीय घटनाको सत्यतथ्य छानविन गर्न संसदीय समिति गठनमा ढिलाइ गरिएको भन्दै नेविसंघले माइतीघर मण्डलमा प्रदर्शन गरेको छ।
विरोध प्रदर्शनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संसदीय छानविन समिति गठन गरि सत्यतथ्य बाहिर ल्याउन माग गरे। प्रदर्शनमा कांग्रेस नेता राजिव विक्रम शाह पनि थिए।
नेपाल दलित विद्यार्थी संघ केन्द्रीय समितिले जातीय विभेदका कारण नवराज विकलगायत छ जनाको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य छानविन छिटो गर्न माग गर्दै आफूहरु प्रदर्शनमा उत्रिएको प्रदर्शनमा सहभागि ने बि संघका नेता तपेन खडकाले जानकारी दिए।
प्रेमिकाको घर गएका जाजरकोटका नवराजसहित उनका साथीहरूमाथि गाउँलेले आक्रमण गरेको आरोप छ। घटनाको छानविन गर्न गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरिसकेको छ। तर विद्यार्थीहरुले भने छानविनका लागि संसदीय समिति गठनको माग गरेका थिए। संसदले सोमबार नै एक संसदीय समिति गठन गरेको छ।