अर्घाखाँची । कोरोना भाइरसबाट मृत्यु भएका अर्घाखाँचीका ३५ वर्षे युवासंगै भारतबाट रिजर्भ गाडीमा आएका २८ जनामा लामो समयपछि कोरोना देखिएको छ ।
गत जेठ १० गते भारतको गुजरातबाट गाडी रिजर्भ गरेर आएका ३० जनामध्ये एक ३५ वर्षीय युवाको बाटोमै मृत्यु भएको थियो भने उक्त गाडीमा आएका २८ जनामा सोमबार (जेठ २६ गते) कोरोना पोजेटिभ देखिएको हो ।
तर अर्घाखाँची भूमिकास्थान नगरपालिकाका मृतकको गाडीको संगैको सिटमा बसेका युवाको भने कोरोना टेष्ट नेगेटिभ आएको छ ।
संक्रमितमध्येका एकले भने, ‘हामी अचम्ममा परेका छौं । यो कसरी भयो ? हामी त टाढा टाडा थियौं । हामीलाई अहिले आएर कोरोना देखिनु अचम्मको कुरा भयो ।’
उनका अनुसार दुई महिनाअघि देखि नै उनीहरु कोठामा बस्दै आएका थिए । बाहिर कतै निस्केका थिएनन् । सबै नजिकै नजिकै बस्थे । भारतमा गाडी चल्न थालेपछि रिजर्भ गरेर उनीहरु कृष्णनगरसम्म आइपुगे ।
त्यहाँ आउनुभन्दा अगाडि नै युवाको मृत्यु भएको थियो । उनको आग्रा र लखनउको बीचतिरै मृत्यु भएको थियो ।
उनले भने, ‘उसले बिहानै दारु पिएको रहेछ । ४५ डिग्रीको गर्मी । ३ बजेको समयमा उसले हामीलाई गर्मी भयो गाडी रोकाओ भन्यो । एकछिन रोकाइयो । ऊ झर्यो । १०–१५ मिनेटपछि उसलाई डाक्टर जहाँ भेटिन्छ त्यहीं उपचार गराउँला जाऔं भन्यौं । अनि गाडीमा हाल्यौं ।’
उनले अगाडि भन्दै गए, ‘गाडीमा हालियो । गाडीमा चढाएको १५ मिनेटमै ऊ गइहाल्यो । १० मिनेटपछि बान्ता गर्न थाल्यो । यताउती पछारियो । अनि उसको दम गयो । हामीले ड्राइभरलाई था’ देनौं ।’
उनले अगाडि भने, ‘उसलाई दुई जनाको सिटमा अडाएर राखियो । संगैको सिटको साथीलाई अन्तै बसाईयो । कृष्णनगर आइयो । यस्तो भयो भनेर ड्राइभरलई भनियो । उसलाई त्यहीं छाडेर हामी हिँड्यौं ।’
थप्दै गए, ‘उसलाई त्यही दिन पीसीआर गरेछ । नेगेटिभ आयो । फेरि जेठ १६ गते रिपोर्ट पोजेटिभ आयो ।’
भारतमै उनको ज्यान गएको भए पनि उनी नेपालमै मरेको ठानी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उनको नाम छैटौं मृतकको सूचीमा रहेको छ ।
मृतकको गाडीमा आएकाले अगाडि भन्दै गए, ‘त्यसपछि हाम्रो पनि पीसीआर नै गरियो । रिपोर्ट आउन ढिलाई भयो । हामी क्वारेन्टाइनमा बसेका थियौं । आफ्नै गाउँको क्वारेन्टाइनबाट छुट्ने दिन हाम्रो रिपोर्ट आयो । पोजेटिभ देखियो । अहिले सदरमुकाम सन्धीखर्कको आइसोलेसनमा छौं ।’
कोरोनाबाट मृत्यु भएका मृतकको संगै बसेकालाई नेगेटिभ र टाढा बसेकालाई पोजेटिभ रिपोर्ट आउँदा उनीहरु सबै आश्चर्यमा परेका छन् ।
नाम मात्रको आइसोलेसन, चिन्ता त्यसैको
सोमबार साँझदेखि आइसोलेसनमा सबेका उनीहरु सबैको स्वास्थ्य ठीक छ । कसैलाई अप्ठेरो परेको छैन । तर त्यहाँको वातावरणले गर्दा झनै असर पर्ने चिन्ता उनीहरुमा थपिएको छ ।
संक्रमित एक जनाले भने, ‘हामी क्वारेन्टाइनमा बस्दा ठीक थियो । अहिले असजिलो महसुस भएको छ । नाममात्रको आइसोलेसन रहेछ । यहाँ ३०–३५ जना संक्रमितका लागि जम्मा २ वटा ट्वाइलेट छन् । अस्तव्यस्त छ ।’
उनले दुखेसो पोख्दै भने, ‘हामीलाई घरमै राखेको भए ख्याल गर्ने थियौं । आफ्नो परिवारबाट टाढा बस्नुपर्छ भन्ने थाहा थियो । परिवारको माया हुँदा उनीहरुको व्यवहार पनि त्यस्तै हुने थियो । यो सबैलाई थाहा भएको कुरा हो । तर यस्तै तरिकाले हामीलाई राखिने हो भने हामी यहाँ बस्न सक्दैनौं भन्नेवाला छौं ।’