arrow

महाभारत बन क्षेत्रलाई सरोकारवालालाई छलेर आरक्ष बनाउने तयारी  

logo
राम धामी,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
Mahabharat-ban-Dadeldhura.jpg

डडेल्धुरा। बर्षौदेखि डडेल्धुराको महाभारत वन क्षेत्रलाई संरक्षित वन क्षेत्र बनाउन लाखौं खर्च गरिसकेको डिभिजन वन कार्यालय डडेल्धुराले सरोकारवालाहरुको आँखा छल्दै आरक्ष बनाउने तयारी थालेको छ।

महाभारत वनक्षेत्रलाई वन ऐनअनुसार संरक्षित क्षेत्र घोषणा गर्न २०६८ सालमा कार्ययोजना स्वीकृत गरि २०७१ साल असार २५ गते राजपत्रमा सूचना प्रकाशित गर्न वन विभागले सिफारिस गरिसकेको महाभारत संरक्षित वन क्षेत्रका नाममा बर्षेनी लाखौं रकम खर्च भईरहेको छ ।

२०७१ सालमै महाभारत संरक्षण परिषदको तदर्थ समिति गठन गरिएकोमा हाल सो समिति निस्कृय छ । जनचेतनामुलक कार्यक्रमका नाममा गोष्ठी र अन्तरकृया गर्न बर्षेनी लाखौं रकम खर्च गरिरहेको डिभिजन वन कार्यालय डडेल्धुराले पछिल्लो समयमा सबै सरोकारवालाहरुको आँखा छलेर महाभारत वन क्षेत्रलाई आरक्षका रुपमा विकास गर्न भित्रभित्रै लविङ गरिरहेको छ । 

गत आर्थिक बर्षमा महाभारत वन संरक्षणका नाममा तीन लाख बजेट बिनियोजन भएको र जिल्लाकै प्रतिष्ठित रातो गुरास रिसोर्टमा गोष्टी सम्पन्न गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ । चालु आर्थिक बर्षमा समेत १० लाख बिनियोजित बजेटमध्ये सब डिभिजनस्तरीय गोष्ठी र जिल्लास्तरीय गोष्टीका साथै प्रचारप्रसार सामाग्री निर्माणमा खर्च भइसकेको डिभिजनल वन अधिकृत विष्णुप्रसाद आचार्यले बताए ।
उनले २०६८ सालदेखि हालसम्म २४ लाख २० हजार रुपैयाँ महाभारत वन संरक्षणका लागि खर्च भइसकेको जानकारी दिए । ‘कार्ययोजना स्वीकृत भएर वन विभागले राजपत्रमा सूचना प्रकाशनका लागि सिफारिस गरिसकेको ८ बर्ष बितिसक्यो,’ उनले भने,‘तर, राजनीतिक पहुँच नहुँदा डडेल्धुराको महाभारत वन क्षेत्रलाई संरक्षित वनका रुपमा विकास गर्न सकिएको छैन । 

डिभिजन वन कार्यालयले लाखौं रुपैयाँ खर्च गरेर जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको दाबी गरे पनि महाभारत वन क्षेत्र बर्षेनी वन अतिक्रमण र विनासको चपेटामा पर्ने गरेको छ । संरक्षित वनक्षेत्रका नाममा औचित्यहीन खर्च भइरहे पनि महाभारत वनक्षेत्र विनास हुँदा डडेल्धुरा जिल्लाको जनजीवन प्रभावित बन्न थालेको सामुदायीक वन उपभोक्ता महासंघ डडेल्धुराकी अध्यक्ष कमला बिष्ट बताउछिन ।

लामो समयदेखि संरक्षित वन क्षेत्रका रुपमा बजेट खर्च गरिरहे पनि पछिल्लो समयमा महाभारत वन क्षेत्रमा पाटेबाघ देखिएको भन्दै डिभिजन वन अधिकृत आचार्यले महाभारत वन क्षेत्रलाई संरक्षित वनका रुपमा नभई आरक्षका रुपमा विकास गरिनुपर्ने भन्दै भित्रभित्रै लविङ शुरु गरेको सरोकारवालाहरु बताउछन ।

आरक्षका रुपमा महाभारत वन क्षेत्रको विकास गर्न प्रयाप्त सम्भाव्यता रहेको आचार्य बताउँछन । सोमबारमात्रै डिभिजन वन कार्यालय डडेल्धुराले जिल्ला समन्वय समितिको सभाकक्षमा महाभारत संरक्षित वनसम्बन्धी जिल्लास्तरीय गोष्ठी सम्पन्न गरेको छ । 



लोकप्रिय समाचार
नयाँ