काठमाडौं । कोभिड–१९ बाट मंगलबार एक जनाको मृत्यु भएको छ । भरतपुरस्थित अस्पतालमा उपचाररत एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मृत्यु हुने भरतपुर महानगरपालिका–११ का ती व्यक्ति ज्वरो, निमोनिया, मधुमेह रोगबाट ग्रसित रहेका थिए । उनको भरतपुर प्रयोगशालामा परीक्षणका क्रममा संक्रमण देखिएको हो । उनीसँगै कोभिड–१९ बाट मृत्यु हुनेको सङ्ख्या १५ पुगेको छ ।
यसैगरी मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा क्रममा ३२३ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा डा जागेश्वर गौतमले बताए । संक्रमित देखिएका पुरुष २९२ जना र महिला ३१ जना रहेका छन् । योसँगै संक्रमितको सङ्ख्या चार हजार ८५ पुगेको छ । तिमध्ये पुरुष तीन हजार ७९८ र महिला २८७ जना रहेका छन् । उनका अनुसार संक्रमित जिल्ला ७२ पुगेको छ । मंगलबार इलाममा संक्रमित भेटिएको हो ।
९६ जना डिस्चार्ज
यसैगरी मंगलबार ९६ जना एकै पटक डिस्चार्ज भएका छन् । तीमध्ये ८८ पुरुष र आठ जना महिला रहेका छन् । कूल ८८४ जना डिस्चार्ज भएका छन् । जनकपुर कोभिड अस्पतालमा धनुषाका ३० जना डिस्चार्ज भएका छन् । तीमध्ये २४ जना पुरुष र छ जना महिला रहेका छन् ।
यस्तै सशस्त्र प्रहरीको काठमाडौँ वलम्बुस्थित कोभिड अस्पतालबाट एक जना महिला डिस्चार्ज भएकी छन् । यस्तै बाँकेको कोहलपुरस्थित आइसोलेशनबाट २२ जना पुरुष र राप्ति सोनारीबाट सात जना पुरुष डिस्चार्ज भएका छन् । ती सबै बाँकेका हुन् ।
यसैगरी दाङस्थित कोभिड विशेष अस्पतालबाट कोभिड–१९ अस्पतालबाट बर्दियाका चार जना, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापा २८ जना पुरुष र दैलेख जिल्ला अस्पतालबाट एक जना महिला डिस्चार्ज भएका छन् ।