arrow

दाङमा ५ वटा स्काभेटरमा आगजनी, निर्माण व्यवसायी महासंघको कडा आपत्ति

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २७ मंगलबार
scaveter-burnt-fire.jpg

काठमाडौं। दाङ जिल्लाको गढवा गाउँपालिका वडा नम्बर १ जेठान गाउँस्थित राप्ती नदीको किनारामा पार्किङ गरी राखिएका पाँच वटा स्काभेटरमा अज्ञात समुहबाट आगजनी गरेका छन्। सोमबार मध्य रातमा भएको आगजनीका कारण चार वटा स्क्याभेटर जलेर नष्ट भएको र एउटामा आशिंक क्षति पुगेको छ। आगजनीमा परि बा.२ क. ४४८२, बा.१ क.२२७१, बा.२ क.३१४८, रा.१.ख.७१३ र एउटा अनटेस्ट स्क्याभेटरमा गरि करोडौंको क्षती भएको बज्रगुरु–कान्छाराम कन्स्ट्रक्शन जे.भीले जनाएको छ। 

आगजनीको घटनाप्रति नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । महासंघका महासचिव रोशन दाहालले विज्ञप्ति निकाली आगजनी गरि करोडौंको क्षति भएको जनाएका छन्। ती स्क्याभेटरहरु कल्याणकोट कालाकाटे गढवा सिक्टा हुलाकी सडक निर्माणमा प्रयोग हुँदै आएका थिए । उक्त सडक खण्डको निर्माण बज्रगुरु–कान्छाराम कन्स्ट्रक्शन जे.भी.ले गरिरहेको छ।

कोभिड–१९ को त्रासबीच पनि राष्ट्रिय गौरवका आयोजनालाई गति दिने नेपाल सरकारको नीति अनुसार अहोरात्र भौतिक पूर्वाधार निर्माणको क्षेत्रमा सक्रिय निर्माण व्यवसायीहरुलाई अज्ञात समुहबाट पटक पटक हतोत्साहित गर्ने गरी भइरहेका हिंसात्मक घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको  महासंघले जनाएको छ ।

“निर्माण व्यवसायी र उनीहरुका उपकरणहरुको सुरक्षालाई लिएर महासंघले पटक पटक प्रधानमन्त्री, मन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु सहित सरोकारवाला सबैको ध्यानाकर्षण गराइरहँदा समेत अज्ञात समुहहरुको हिंसात्मक गतिविधिमा कुनै कमी नआउनु ठूलो चिन्ताको विषय हो” महासंघको विज्ञप्तिमा भनिएको छ ।

यस्तै सिलसिला जारी रहेमा देशभरका निर्माण कार्य ठप्प पारी सशक्त आन्दोलनमा जान बाध्य हुने व्यहोरा अवगत गराउँदै महासंघले तत्काल दोषीलाई पक्राउ गरी कडा भन्दा कडा सजाय दिन र सम्बन्धित निर्माण कम्पनीहरुलाई क्षतिपूर्ति दिन जोडदार माग गरेको छ । साथै देशभरका निर्माण व्यवसायी र उनीहरुका उपकरणको सुरक्षाको भरपर्दो व्यवस्था मिलाउन सरोकारवाला सबैको ध्यानाकर्षण गराएको छ । 



लोकप्रिय समाचार
नयाँ