एपी, वासिङ्टन । अमेरिकी माथिल्लो सदन सिनेटले अमेरिकी वायु सेना प्रमुखको पदमा जनरल चाल्र्स ब्राउन जुनियरको नामलाई अनुमोदन गरेको छ । अमेरिकी सेनामा महत्वपूर्ण सेवा मानिएको वायु सेनामा नेतृत्व गर्न पाउने उनी पहिलो अश्वेत नागरिक हुन् ।
सिनेटमा भएको मतदानमा ब्राउनको पक्षमा ९८ तथा विपक्षमा शून्य मत परेको थियो । सिनेट बैठकको अध्यक्षता गरेका उपराष्ट्रपति माइक पेन्सले ब्राउनको मनोनयन ऐतिहासिक रहेको बताए ।
प्रहरी नियन्त्रणमा एक अश्वेत नागरिक जर्ज फ्लोएडको मृत्यु भएपछि अमेरिकी समाज र राजनीतिक क्षेत्र तनावमा छ । यहीबीच भएको सिनेट सुनुवाईमा ब्राउनको पक्षमा सर्वसम्मत भएको थियो ।
ब्राउनले हालैका दिनहरुमा अमेरिकी प्रशान्त वायु सेनाको कमान्डरका रुपमा सेवा गरेका थिए । उनी स्वयं लडाकू बिमानका पाइलट रहनुका साथै उनीले दुई हजार ९०० घण्टा सैनिक बिमान उडाएका छन् ।
ब्राउन सन् १९८४ मा अमेरिकी वायु सेनामा अधिकृतमा भर्ना भएका थिए । उनीले वायु सेनाभित्र विभिन्न पदमा रहेर सेवा गरेका छन् । उनीले एफ–१६ लडाकू बिमानको प्रशिक्षकका रुपमा पनि काम गरेका थिए ।
सन् २०१९ को जनगणना अनुसार अमेरिकामा सेनातर्फ १७ प्रतिशत अफ्रिकी–अमेरिकी मूलका रहेका छन् ।