संघीय संसदमा सरकारमाथि जायज, तर्कपूर्ण र जनपक्षीय आवाज उठाउने मामिलामा सांसद गगन थापा अग्रपंक्तीमा छन् । सांसद थापाले गर्ने हरेक संवोधन राष्ट्रिय अन्तराष्ट्रिय रुपमा भाइरल मात्र हैन, लोकप्रिय हुने गरेको हालसम्मको रेकर्ड छ । उनले बोल्न थालेपछि सबैका कान ठाडा हुन्छन् र धेरैलाई उनको ओजपूर्ण आवाजमा व्यक्त हुने सटीक, सुक्ष्म अध्ययनले ओतप्रोत अनि मुल विषयमै केन्द्रीत हुने धारणा मनपर्ने गरेको छ ।
हुन त संसदमा सत्तारुढ नेकपाका करीव दुई तिहाई सांसद छन् । संसद सार्वभौम अंग भएकाले नेकपाका सांसदहरुले पनि सरकारका कमजोरीमाथि उत्तिकै गर्जनका साथ बोल्नुपर्ने हो । उनीहरुलाई त्यो हक पनि छ । विशेष विधेयक, संकल्प या अविश्वास प्रस्तावमा ह्वीपको महत्व होला, तर अरुबेला त उनीहरुले आफ्नो सांसद हुनुको स्वत्व त प्रदर्शन गर्न सक्छन् नी । तर ती सरकारको लाचार छायाँजस्ता छन् । फड्के किनाराका साक्षीजस्ता छन् । एक से एक ‘क्रान्तिकारी कम्युनिष्ट’हरु संसदमा छन् । तर उनीहरु नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालकै लकीरको फकीर भएका छन् ।
अनि कहिलेकाँही पँक्तिकारलाई लाग्छ संंसदको आभास त्यही एकजना गगन थापाले हामीलाई दिलाइरहेका हुन कि ? संसदको असली महत्व, गरीमा अनि तरंगको प्रतिनिधित्व उनले मात्र गरिरहेका हुन् की भन्ने पनि लाग्छ । पँक्तीकारले यसो लेखिरहँदा अन्य माननीय सांसदहरुको भूमिकालाई ठयाम्मै नकार्न खोजेको चाहिँ हैन । बस, यत्ति उल्लेख गर्न खोजिएको हो कि संसदमा सांसद थापालेजस्तै शसक्त आवाज उठाउने कम्तीमा बिस जना सांसद मात्र भइदिएको भए हाम्रो संसद अर्कै हुन्थ्यो । जनतामा संसदीय गतिविधिप्रति विश्वास, आकर्षण र सम्मान जाग्थ्यो । अनि सरकार अहिलेजस्तो नालायक, स्वेच्छाचारी र किंकर्तव्यविमुढ हुँदैनथ्यो कि ?
सांसद थापाले उठाउने चोटीला प्रश्नको जुन उचाई छ, सत्तारुढ दलबाट सोही उचाईको जवाफ भने आउँदैन । सांसद थापाले एकथोक प्रश्न गरेका हुन्छन्, प्रधानमन्त्री र मन्त्रीहरु चाहिँ गोलमटोल भाषामा मुल मुद्दालाई विषयान्तर गरेर जवाफ दिइरहेका हुन्छन् । अधिकांश सन्दर्भमा संसदकै उपहास हुने खालका जवाफ दिने गरेको पाइन्छ । बुधवार यस्तै एउटा ‘घटिया जवाफ’ प्रधानमन्त्री ओलीले दिए, सांसद थापाको प्रश्नमा । सन्दर्भ थियो कोरोना भाइरसको । प्रमले बोल्ने क्रममा ‘नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बढी छ’ भन्ने खालको हास्यास्पद अनि कतैबाट पनि वैज्ञानिक पुष्टी नभएको डेढ अक्कली कुरा राखे । सांसद थापाले प्रतिप्रश्न गरे, ‘हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढी छ भनेर कसले भन्यो ? नेपालमा मृत्यु हुनेको संख्या उमेर समूहका आधारमा कम छ भनेर विश्वव्यापी मृत्यु हुनेको संख्या दाँजेर हेर्नुभएको छ ?’
सांसद थापाको कडा प्रतिप्रश्नले प्रम ओली हतप्रभ भएको भिडियोमा स्पष्टै देखिन्छ । प्रम संयमीत हुनुपर्ने हो, जायज प्रश्नको हार्दिक लवजमा जवाफ दिनुपर्ने हो । उनले जवाफमा भने, ‘नेपालीको प्रतिरोधात्मक क्षमता राम्रो छ भनेर कसले भन्यो भन्ने माननीज्यूको प्रश्न छ, भर्खरै सुन्नु भो नी, मैले नै भनेको । यो भनाईमा कुनै वैज्ञानिक या डाक्टरले चुनौती दियो भने म त्यो स्वीकार्दीन ।’
अहो, क्या दम्भयूक्त जवाफ । ‘मैले भनेको’ रे । यस्तो दम्भयुक्त लवज राणा र पंच शासकहरुको हुन्थ्यो । राजा महाराजाहरुको हुन्थ्यो । राजाले भनेपछि त्यही मान्य हुन्थ्यो । श्री ३ले भनेपछि सक्की गो । राणा कालमा पजनी गरिन्थ्यो । पजनीका दिन बडा हाकिमदेखि सरकारी कर्मचारीहरु गोजीमा दाम बोकेर श्री ३ महाराज सामु उभिनुपर्थ्यो । महाराजले यसो कर्मचारीको मुहार नियाल्थे अनि ‘ल आजदेखी तेरी जागीर गयो’ भन्थे । हो त, राणाजीले भनेपछि अरुले मान्नै पर्थ्यो । नियम, कानून, तथ्य, प्रमाण भन्ने कुराको त्योबेला के महत्व ? तर अहिले त लोकतान्त्रिक युग हो । अनि यो गणतन्त्रमा पनि प्रम ओलीले भनिदिएपछि सक्की गो त ? हामीले मानिदिनुपर्ने कि नेपालीको प्रतिरोधात्मक क्षमता बढी छ भनेर ? यो आफैमा अधिनायकबादी सोचले ओतप्रोत जवाफ हो, जसमा राणाकालीन दम्भ र सामन्ती शैली स्पष्ट अभिव्यक्त छ ।
प्रम ओलीले कोष्टारीका कि कुन मुलुकबाट मानार्थ डाक्टर उपाधी पाए होलान्, तर नेपालीको प्रतिरोधात्मक क्षमता जाँच्ने उनी न त महान वैज्ञानिक हुन्, न चिकित्सक । अतः ‘मैले भनेपछि भयो’ भन्ने उनको जवाफले संसदको घोर उपहास गरेको छ, गम्भीर प्रश्नको हल्का जवाफ भएको छ ।
अब उनकै जवाफ कति भरपर्दो र वैज्ञानिक तथ्यमा आधारीत छ भनेर विश्लेषण गरौं ।
चिकित्सक भन्छन्, ‘कोरोना भाइरसबाट बच्ने एउटा तरीका दुइ तिन घन्टाको विचमा मनतातो पानी खाइरहनुपर्छ ।’
कोरोना भाइरस हाम्रो घाँटी अर्थात स्वासनलीबाट फोक्सोमा जाने भएकाले बारम्बार मनतातो पानी खाइरहेमा घाँटीमा घर बनाइरहेका भाइरसहरु पेटमा पुग्छन् र सोझै फोक्सोमा आक्रमण गर्न सक्दैनन् ।
प्रम ओलीले डेढ अक्कली तर्क गर्दै भनिदिए, ‘हिमालको पानी खाने भएकाले नेपाली जातीको स्टामिना बढी छ ।’
भाइरस फ्लुमा चिसो पानी पूर्णत घातक मानिन्छ । हिमालको चिसो पानी पिउँदा घाँटी च्याप्पै समातेर रुघा, खोकी, निमोनिया हुँदैन र ? यही कारण हिमालकै शेर्पा जातीले घिउ हालेको तातो चिया खाने गर्छन् । हिमालतिर पदयात्रा या आरोहणमा जानेहरुले थर्मसमा तातो पानी बोकेका हुन्छन् । हिमालको पानी र कोरोनावीच कुनै तादात्म्य छैन । चिसो पानी कुनै हालतमा स्वस्थकर हैन, त्यसलाई मनतातो पारेर पिउँदा नै फाइदा हुने हो । अर्को कुरा हिमाल र पहाडमा भन्दा तराईमा अधिक जनसंख्या छ, जहाँको पानीमा विषाक्त आर्सेनिक तत्व पाइन्छ । कहाँसम्म भने काठमाडौंमा कुनै दिन मेलाम्ची आयो भने पनि त्यो पानी नउमाली खानै मिल्दैन ।
हो, मुलमै पुगेर हातले उभाएर पानी खाँदा एकखालको भाव पक्कै जाग्छ । यसका पछाडी पहिलेदेखिकै देशभक्तीको भाव पनि हुनसक्छ । ‘अहो, हिमालबाट आएको स्वच्छ, कलकल अनि स्नीग्ध जल पिउनुको बेग्लै मजा’ भन्ने भावमा धेरै कविले कविता रचे । ‘हिउँचुलीमा हिउँ बग्यो, थाकखोलामा पानी’ भन्ने त रामकृष्ण ढकालले नै गाएका छन् । प्रम ओलीमा त्यो कवि चेत जागेको हुनसक्छ । आजको जटील संकटमा त्यो कवि चेतले हैन, किटले काम गर्छ । कविता चेत भएका प्रम ओली नेपालमा पर्याप्त किट, क्वारेन्टाइन र पिपीई अनि परिक्षणको व्यवस्था मिलाउन भने असफल छन् ।
प्रम ओलीले हामी नेपालीको जीवनशैली बडा स्वस्थकर भएको बताए । बेसार, नुन, अदुवा, लसुन, जिरा, मरिचलगायतका घरेलु जडीबुटीका कारण हाम्रो प्रतिरोधात्मक क्षमता बढेको भन्दै सिंहदरबार बैद्यखानाका आयुर्वेदाचार्यले झै व्याख्या पनि गरिहाले । बेसार, अदुवा, जिरा, मरीचसँग कोरोनाको कुनै साइनो छैन । यदि यसो हुन्थ्यो भने भारतमा कोरोना भाइरसको महामारी फैलदैनथ्यो होला । भारत नै यस्तो देश हो, जहाँ दैनिक भोजनमा दर्जनौं मसालाको उपयोग हुन्छ । अहिले भारतको महाराष्ट्र, दिल्ली र केरलालगायतका प्रदेशमा सबैभन्दा बढी महामारी छ र यी प्रदेशमा मसालाको अत्याधिक उपयोग हुन्छ । साँझबिहानको खानाको कुरा छाडौं, बिहान र दिउँसोका खाजाहरु इडली, डोसा, भेलपुरी, पानीपुरी, पावभाजी, समोसा चाट, आलु पराँठा, बिरयानी, मटर पनिर, कोफ्ता, बैगनका भर्तालगायतमा मसालाको भरपुर उपयोग हुन्छ । यदि यस्ता मसाला अर्थात जडीबुटी खाएकै भरमा प्रतिरोधात्मक क्षमता बढने हो भने भारतमा कोरोनाको यस्तो महाभारी कसरी हुन्थ्यो ? बरु, मसालाको खासै उपयोग नगर्ने र सकेसम्म ब्वायल खाना खाने चिनियाँ, जापानी, कोरीयन आदि मंगोलीयन मुलुकले कोरोनामाथि नियन्त्रण गरिसकेका छन् । यी देशमा उपयोग हुने प्रख्यात मसाला अजिनोमोटो स्वास्थ्यका लागि खासै उपयुक्त मानिदैन । उता, मसालाको उपयोग कमै गर्ने अमेरीका र बेलायतमा कोरोना महामारी फैलदो छ । अतः प्रतिरोधात्मक क्षमता या भाइरस संक्रमण र मृत्युसँग मसालाको खासै तादात्म्य देखिदैन । इम्यून सिस्टमको सम्बन्ध जीवनशैली, जिनेटिक र खानपानसँग जोडिन्छ । र, स्वस्थकर खाना भनेको कम मसाला राखेकै हो । लसुनको एउटा प्रयोजन हुनसक्छ, बेसारको अर्को । तर यसले समग्र इम्यून सिस्टममा खासै प्रभाव पार्दैन ।
हामी नेपालीको खानपान बडा भडकिलो छ । आर्यनहरुकै घरमा पनि सातामा दुइ तिन छाक मासु पाकेकै हुन्छ । महिनैपिच्छे आउने नयाँ नयाँ चाडपर्वहरुमा हामीले अत्याधिक क्यालोरीका खाना खाइरहेकै हुन्छौं । अनि खाना चाहिँ विषाक्त । विषादीयुक्त तरकारी र खाद्यान्न, बहुसंख्यकबाट गरिने धुम्रपान र मद्यपान, धुवा धुलो र ध्वनी प्रदुषण, देशको बेथिती, भ्रष्ट चोर नेताहरु, दिनदिनैको आर्थिक संकट, अभाव र गरीबीमा बाँचेका हामी नेपाली आफैमा विरामी छौं । हाइजेनिक र सन्तुलीत भोजन अनि शान्त, सुखी र समृद्ध जीवन बिताउन नपाएका नेपालीमा रोग प्रतिरोधात्मक क्षमता कसरी बढी हुन्छ ? यहाँ धेरैको किडनी फेल किन हुन्छ ? स्वयं प्रमकै किडनी फेल किन भो ? पचास नकटदै हृदयघात, मधुमेह, उच्चरक्तचाप । धेरै नेपाली कुनै न कुनै रोगको शिकार भएकै कारण त मार्सी चामल माफीयावालाहरुले यो देशमा मेडिकल माफीयागिरी चलाइरहेको हो ? चोकैपिच्छे अस्पतालको चाप किन ? बेसार, अदुवा र जिरा मरीचले निरोगी हुनुपर्थ्यो त । यार्सागुम्बाले हाम्रो किडनी मजबुत बनाउनुपर्थ्यो त । अतः प्रमका ‘जिरा मरिचे र बेसारे’ भाषणसँग स्वास्थ्य अनि तन्दुरीस्तीको कुनै मेल छैन ।
रोग प्रतिरोधात्मक क्षमता बढाउन पर्याप्त अनि परिशुद्ध विषादीरहित पौष्टीक आहार चाहिन्छ । हामी नेपालीको मुहार सधै हँसीलो र प्रशन्न हुनुपर्छ । देशको शासनसत्तामा रहेका नेताहरु देख्दा हाम्रो छाती गर्वले फुल्न र हाम्रो शीर श्रद्धाले निहुरीन सक्नुपर्छ । स्वदेशमै पाखुरा बजार्ने परिस्थिति बन्नुपर्छ । सही र सन्तुलीत भोजन, सकारात्मक सोच अनि सार्थक सपनाको साकार भएमा मात्र हामीमा प्रतिरोधात्मक क्षमता बढने हो । तर के प्रम ओलीले हामीलाई यो सब कुरा दिनसके त ? बरु नेकपाको दुई तिहाइ सरकारका हर्कतले हाम्रो मगज दिनहुँ खलबलीन्छ, हामीमा घोर निराशा मात्र पैदा हुन्छ । आक्रोश मात्र ओकल्न मनलाग्छ । दिक्क लाग्छ । स्वस्थकर खानाको त कुरै नगरौं, विदेशबाट विषादीयुक्त खाद्यपदार्थ आयातमा रोकलगाउनसमेत नालायक सरकारले हामीलाई जिरा, मरिच र बेसारका डेढअक्कले कुरा गरेर भुलाउने ?