काठमाडौं । जनतालाई लकडाउनमा राखि भ्रष्टाचार, अनियमितता र अव्यवस्था बढाउन थालेपछि जनता दर्जनौ प्रश्न बोकेर सडकमा ओर्लिन थालेका छन्। विभिन्न माध्यमबाट गरिएका प्रश्नहरुलाई सरकारले मजाक बनाएपछि आक्रोशित नागरिकहरु सडकमा ओर्लिन थालेका हुन्।
जनता सडकमा ओर्लिन थालेपछि अत्तालिएको सरकारले जनतालाई थर्काउन थालेको छ। उसले प्रदर्शन गर्नेहरुलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ । सरकार बिरुद्धको आक्रोश भुसको आगो जस्तै सल्किन थालेपछि देशका प्रमुख शहरहरुमा प्रधानमन्त्री र सरकार बिरुद्ध प्रदर्शन हुन थालेको हो।
बिहीबार मात्र पनि बालुवाटारमा हजारौं मानिस जम्मा भएर प्रदर्शन गरेका थिए। पोखरामा पनि व्यापक ठूलो प्रदर्शन भएको थियो। विना कुनै व्यानरमा ओर्लिएका नागरिकहरुले कोरोनाको उपचार र कोरोना रोगको व्यवस्थापनमा खर्चिएको दश अर्वको हिसाव मागेका थिए।
तर सरकारले नागरिकलाई चित्त बुझाउन छोडी गृह मन्त्रालय मार्फत धम्की दिएको छ। मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालबाट आह्वान गर्ने, जुलस तथा शान्तिपूर्ण धर्नाका नाममा धेरै मानिस सहभागी हुने गरेको पाइएको बताएको छ । यो बन्दबन्दीको आदेश विपरित भएको भन्दै गृह मन्त्रालयले १०० देखि ६०० रुपैयाँसम्म र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्न सक्ने स्मरण गराएको छ ।