arrow

८ वर्षीया बलिकालाई घरमै लगेर खुट्टा बाँधेर करणी, बालिकाको उद्दार

logo
निरा गौतम
प्रकाशित २०७७ जेठ २९ बिहिबार
Child-rape.jpg.jpeg

 रुपन्देही । तिलोत्तमा नगरपालिका–१० शान्तिनगर गाउँकी बलात्कृत बालिकालाई सुरक्षा अवासमा राखिएको छ । आठ वर्षीया बालिकाको स्वास्थ्य अवस्था कमजोर भएका कारण बुधबार थप उपचारपछि इलाका प्रहरी कार्यालयले बालिकालाई कदम नेपालको सुरक्षा आवासमा लगेर राखेको छ । 

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बलात्कारका कारण यौनाङ्ग र मलद्वार च्यातिएकाले दिसा र पिसाब गर्न अप्रेशन गरी कोखाबाट पाइप हालेर बाहिर पास गराइएको छ । “बलात्कारका कारण बालिकाको स्वास्थ्य अवस्था जटील छ, उनलाई नियमित स्वास्थ्य जाँच र मनोपरामर्श आवश्यक छ, आर्थिक स्थिति कमजोर भएकाले परिवारले उपचार गर्नसक्ने देखिएन त्यसैले सुरक्षा आवासमा राखेका हौँ”, इलाका प्रहरी कार्यालय बुटवलका महिला सेल प्रमुख विष्णुकुमारी थापाले भनिन् ।

घटना एक महिना अघि वैशाख २६ गतेको हो ।  वडा नं १० बेंवरे नजिकै शान्तिनगर गाउँको जहाँ आठ वर्षीया बलिकालाई घरमै लगेर खुट्टा बाँधेर बलात्कार गरिएको थियो । छिमेकी १४ वर्षीय किशोरले चौरमा खेल्दै गरेको अवस्थामा बालिकालाई फकाई फुल्याइ घरमै लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । खुट्टा बाँधेर बलात्कारपछि कोदालोको बिँड यौनाङ्गमा राखेर थप पीडा दिएका कारण बालिकाको यौनाङ्ग र मलद्वारमा असर पुगेको छ । 

“किशोरले बलात्कार मात्र गरेनन्, बलात्कारपछि बालिकाको मुखमा टेप लगाइदिएर खुट्टा बाँधेर कोदालोको बिँड यौनाङ्गमा राखेर थप पीडा दिए र घटनाबारे कसैलाई भनिन् मारिदिने धम्कीसमेत दिए”, स्थानीय देवी वाग्ले भन्छन्, “डरकै कारण बालिकाले अम्बाको रुखबाट लडेर घाइते भएको परिवारलाई बताएपछि घटनाबारे ढिलो थाहा पायौँ ।” आर्थिक स्थित कमजोर भएका कारण घर परिवारमा समेत उचित स्याहार पाउन नसक्दा बालिकाको स्वास्थ्यमा थप समस्या आएपछि उनलाई बुधबार थप उपचारपछि सुरक्षा आवासमा राखिएको उन बताउछन् । बलात्कारका कारण यौनाङ्गमात्र होइन पाठेघरसम्म नराम्रो असर परेको वाग्लेको भनाइ छ ।

स्थानीय सहनशील टोल विकास संस्थाका अध्यक्ष गोपालप्रसाद घिमिरेका अनुसार बालिका विपन्न परिवारकी भएकै कारण स्थानीयले बैशाख २९ गते रु ३९ हजार चन्दा सङ्कलन गरेर उपचारका लागि बुटवल प्रादेशिक अस्पतालमा पठाएका थिए । त्यहाँ उपचार हुन नसकेपछि बालिकालाई भैरहवा मेडिकल कलेजमा एक सातासम्म राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा डाक्टरले बालिकाको यौनाङ्गको घाउ लडेर लागेको नभई योनीमा केही वस्तुले जर्बजस्ती घोचेका कारण भएको बताएपछि सोधीखोजी गर्ने क्रम शुरु गरेपछि घटना बाहिर आएको हो । “डाक्टरले लडेको नभई अरू कारण भनिन्पछि बालिकालाई फकाएर सोध्यौँ, बल्ल घटना खुलेको हो”, उनले भने, “त्यसपछि कारवाहीका लागि प्रक्रियामा लगेका हौँ ।” 

एक महिनाअघिको घटना भए पनि आमा डिप्रेसनको रोगी र बाबुले वास्ता नगर्दा सार्वजनिक भएको थिएन । स्थानीयवासीको पहलपछि बालिकाकी दिदीले यही जेठ १९ गते मात्रै इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी हुन् । घटनाका आरोपीको पनि कम उमेर भएकाले अभिभावकको संरक्षणमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले जानकारी दिए ।  पीडित पक्षले दिएको उजुरीका आधारमा किशोरलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति माग गरे पनि अदालतले भनिन् नाबालक रहेको भन्दै हाजिरी जमानीमा अनुसन्धान प्रक्रिया अगाडि बढाउन आदेश दिएको उनले बताइन् । 

पीडित बालिकाको सुरक्षा र थप उपचारबारे बुधबार इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरसँगको छलफलपछि बालिकालाई सुरक्षा आवासमा राखिएको कदम नेपालका अध्यक्ष इन्दिरा आचार्यले बताइन् । “बालिकाको स्वास्थ्य अवस्था गम्भीर छ, यौनाङ्ग र मलद्वार क्षतविक्षत भएकाले डाक्टरले कोखाबाट पाइप लगाएर दिसा, पिसाब बाहिर निकाल्ने गराइदिएका छन्, थप उपचार र बालिकालाई मानसिक परामर्शका पहल गरिरहेका छौँ”, अध्यक्ष आचार्यले भनिन्, “बालिकाको शारीरिक अवस्था पनि कमजोर छ ।” 

बालिकाका चार दिदी भाइमध्ये एक दिदीको विवाह भएको र अन्य तीन जना कोही पनि विद्यालय जाने गरेका छैनन् । गाउँमा रहँदा बालिकाले असुरक्षित महसुस गरेको र आर्थिक अवस्था कमजोर भएका कारण बालिका र उनकी दिदीलाई केही समय सुरक्षा आवास गृहमा राखिने अध्यक्ष आचार्यले बताइन् । उनले भनिन्, “उनलाई यो बेलामा उचित स्याहार र मायाको खाँचो छ, हामी सुरक्षा आवासमा राखेर हेरचाहसँगै मनोपरामर्शको व्यवस्था गर्छौँ ।”



लोकप्रिय समाचार
नयाँ