डोटी । पीसीआर परिक्षणको दायरा बढाउन माग गर्दै सरकारलाई ज्ञापन पत्र र एक रुपैंया अभियानबाट संकलन गरिएको रकम पठाईएको छ ।
नेपाल विद्यार्थी संघ डोटीले जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र र ‘रू १ चन्दा अभियान’ बाट संकलन गरिएको रकम पठाएको हो ।
नेविसंघले बुधबार डोटीमा पीसीआर खरिदका लागि सरकारलाई पठाउने भन्दै ‘रू।१ चन्दा अभियान’ सञ्चालन गरेको थियो ।
पीसीआर मेशिन खरिदको लागि दबाब दिने उद्देश्यले सो अभियान सुरू गरेको नेविसंघ डोटीका अध्यक्ष गणेश खड्काले बताए ।
उनले भने, ‘सरकार जनताप्रतिको दायित्वमा उदासिन देखिएको छ, ’उनले भने, ’भ्रष्टाचार गर्न जुनसुकै हद पनि पार गर्न नहिच्किने सरकारले आरडिटीका नाममा गरिरहेको भ्रष्टाचार हटाउन र जनताप्रति जिम्मेवार बनाउन यो अभियान थालेका हौं ।’
कोरोना परिक्षणमा पीसीआर पद्धतिमात्रै विश्वसनीय रहेको अवस्थामा सरकार त्यसको दायरा बढाउनतर्फ उदासिन रहेको अध्यक्ष खड्काले बताए ।
उनले भने,’सरकार हजारौं नागरिक क्वारेन्टाइनमा राखेर कमिशनको खेलमा ल्याइएको आरडिटी प्रयोग गरेर रकम कुम्ल्याउन तल्लीन छ । जुन जनस्वास्थ्यमाथि गम्भिर खेलवाड हो ।’
सरकारले नेविसंघको मागलाई सम्बोधन नगरे कडा आनदोलनमा उत्रिने अध्यक्ष खड्काले बताए ।